Logo

राहत बोकेर प्रकोप पीडितका घर–घरमा मन्त्री गुरुङ



ओखलढुङ्गा, ६ जेठ: प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ त्यहाँका प्रकोप पीडितका घर–घरमा राहत लिएर पुगेका छन् । जिल्लाबाट निर्वाचित मन्त्री गुरुङ चम्पादेवीको बाढी पहिरो प्रभावित र मोलुङ गाउँपालिकाका अग्निपीडितका समस्या बुझेर सान्त्वना दिन राहत लिएर स्थलगत निरीक्षणमा पुगेका हुन् ।

मन्त्री गुरुङले जिल्लाको मोलुङ गाउँपालिका–१ डुलडुलेका आगलागी पीडितलाई घरैमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । उनले प्रदेश सरकारका तर्फबाट पाँच परिवारलाई रु ५० हजारका दरले रु दुई लाख ५० हजार र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार रु २५ हजारका दरले रु एक लाख २५ हजार राहत उपलब्ध गराएका छन्।

मन्त्री गुरुङले आगलागी पीडितको अवस्था अनुगमन गरेपछि आवास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गत चैत १५ गते आगलागी हुँदा कुन्तादेवीका पाँच घर जलेका थिए । घरसहित धनमाल पूर्णरूपमा जलेर नष्ट हुँदा दैनिकी चलाउन र घर बनाउन समस्या भइरहेका बेला मन्त्रीको साथले ठूलो राहत मिलेको कुन्तादेवीका अग्निपीडित हर्कमाया प्रधानले बताए ।

यसैबीच मन्त्री गुरुङले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीको पहिरो प्रभावित क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका छन् । गत वैशाख १८ गते गाउँमाथिबाट झरेको पहिरोबाट विस्थापित भएका स्थानीयवासीलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पहिरो प्रभावित क्षेत्रका नागरिकको आवास निर्माणमा आफूले सहयोग गर्ने बचन दिएका छन् ।

सिल्खुमाथि खनेको कच्ची सडक र खहरेमा जम्मा भएको भेल गत वैशाख १८ गते बाढीको रूपमा गएपछि स्थानीयवासीका घर, गोठ र खेत बगाएको थियो । सिल्खुको विद्यालय, स्थानीयवासीका घर र कृषिबालीमा समेत क्षति पुगेको थियो । ओखलढुङ्गामा जथाभावी खनिएका कच्ची सडकका कारण पहिरो बगेर वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्