Logo

ज्वाईंले ‘वेपत्ता भई’ भनेको चेली गाडिएको भेटिएपछि…



काभ्रे, ६ जेठ । ‘सुम्निमा हराई ! खोजी गरिरहेको छु,’ सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए । छोरी हराई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा चीसो पस्यो । उनीहरुले ज्वाईंलाई कतै केही त गरेको होइन ? भनी सोधे । सोनाम अकमकिएर खोजी गरिरहेको जानकारी दिए । काभ्रे घर भएका सोनामले सुनकोशीमा फाल हालेको हुनसक्ने भएकाले खोजी गरिरहेको सुनाए ।

सुम्निमाका माइती खलकले शंका लागी प्रहरीमा उजुरी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अगाडि बढायो । सोनाम लामामाथि अनुसन्धानको सुई तेर्सियो । शुरुमा उनले कोशीमा आत्महत्या गरेको हुनसक्ने भने । अपराध लुकाउन खोजे । तर, प्रहरीले चाल पाइसकेको थियो ।

अनुसन्धान गर्दै जाँदा केही प्रमाणहरु फेला पारेपछि सोनामसँग सोधपुछ भयो । उनले वास्तविकता लुकाउनै सकेनन् । हत्या गरी चौरीदेउराली गाउँपालिका ९ गोठपानीस्थित घरभन्दा केही तल मकैबारीमा गाडेको भेटियो । शव गाडेको अवस्थामा फेला पर्यो । ५ जेठमा शव झिकियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोनामले १ जेठको राति हत्या गरी २ जेठको विहान गाडेको बयान दिए ।

३ वर्ष अघि मात्र सुम्निमाले सोनामसँग विवाह गरेकी थिइन् । दुवैबीच झाँङ्गिएमो प्रेम विवाहमा परिणत भयो । सुम्निमाले विवाहको वर्ष दिनमै छोरालाई जन्म दिइन् । उनीहरुको जीवन सामान्य तरिकाले बढ्दै थियो । तर, सोनाम विस्तारै कुलततिर लाग्न थाले । उनले सुम्निमालाई कुटपिट गर्थे ।

१ जेठको राति उनले योजनावद्ध रुपमै सुम्निमाको हत्या गरे । उनको टाउकोमा गम्भीर चोट लागेको खुलेको छ ।

हत्याको कारण
सुम्निमा र सोनामबीच विवाहको २ वर्ष बितेपछि विवाद बढ्यो । उनीहरु एकले अर्कोमाथि आशंका गर्न थाले । प्रहरीका अनुसार सोनामले बयानका क्रममा सुम्निमाको फेसबुकमा विभिन्न केटाहरुको मेसेज आउने गरेको र सम्झाउँदा पनि नमानेपछि हत्या गरेको बताएका छन् ।

दुवैबीच सामाजिक सञ्जालको प्रयोगको विषयले विवाद भएको र हत्याको कारण पनि त्यही देखिएको काभ्रे प्रहरी स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्