Logo

नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण



गण्डकी, ६ जेठ: गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उनले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताए ।

कोरोना महामहारीले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेशमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा उच्च प्रगति हासिल गर्नेतर्फ सरकार क्रियाशील बन्ने उनले बताए ।

आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट तर्जुमाको चरणमा रहेको हुनाले जिल्लाका सन्तुलन, रोजगारी सिर्जना, कोरोनाबाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनीकरण र आर्थिक समृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उनले जोड दिए ।

युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवं सामाजिक आर्थिकरूपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशीलता विकासका लागि व्यावसायिक, सीपमूलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पु¥याइने उनले बताए ।

प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए । सरकारले एक वडा एक वनवाटिका र एक स्थानीय तह एक हरित उद्यान कार्यक्रम समुदायमा आधारित वनको संरक्षण, उत्पादन वृद्धि र संस्थागत सृदृढीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालले स्पष्ट पारे ।

पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा महेश्वर ढकाल, विभिन्न विभागीय प्रमुख तथा कर्मचारीले मन्त्री लम्साललाई स्वागत गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot