Logo

सुम्निमा हत्याको कारण ‘फेसबुक मेसेज र शंकालु पति’



काभ्रे, ६ जेठ । चौरीदेउराली गाउँपालिका-९ गोठपानीमा ६ दिन देखि वेपत्ता भनिएकी सुम्निमा गुरुङ्गको शव गाडिएको अवस्थामा फेला परेको छ । ५ जेठमा गाडिएको अवस्थामा फेला परेकी सुम्निमाको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।

घरमुनीको मकैंबारीमा गाडिएको शवबारे उनकै पति सोनाम लामाले बयानमा बताएका हुन् । सोनामले नै पत्नीलाई १ जेठमा योजनावद्ध तरिकाले हत्या गरेका थिए । २ वर्षका छोरा समेत रहेका सुम्निमामाथि सोनामले निकै शंका गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोनाम मादक पद्धार्थ सेवन गर्ने र पत्नीलाई कुटपिट गर्ने गर्थे । पत्नीले फेसबुक बढी चलाउने र मेसेजबारे पनि चीयो गर्ने उनले प्रहरीसँगको बयानमा अरु केटासँग सम्बन्ध थाहा पाएको दाबी गरेका छन् । बयानमा उनले सम्झाउँदा पनि नमानेपछि हत्या गरेको भनेका छन् ।

प्रेमपछि घृणा अनि हिंसा
तीन वर्ष अघि तनहुँ बन्दीपुरकी १९ वर्षीया सुम्निमा गुरुङ्ग र काभ्रे चौरीदेउरालीका २५ वर्षीय सोनाम लामाबीच प्रेम विवाह भएको थियो । दुवैले सुन्दर सँसारमा सुन्दर जीवन जीउने कसम खाएका थिए । उनीहरुबाट विवाहको वर्ष दिनमै छोराको जन्म भयो । जीवन सामान्य रफ्तारमा चल्दै थियो ।

विवाहपछि सन्तानको जन्म भएपछि सोनाम कुलतमा लाग्न थाले । मद्यपान नियमित गर्ने र पत्नीमाथि कुटपिट गर्ने गर्थे । सुम्निमा सुन्दर भएकीले शंका धेरै गर्थे । फेसबुक चलायो कि चासो राख्थे । जसका कारण उनीहरुबीच विवाद बढ्दै गयो ।

सोनामले १ जेठको राति सुम्निमालाई हत्याकै उद्देश्यले कुटपिट गरे । टाउकोमा हतियार प्रहार गरे । हत्यापछि २ जेठको विहानीपख शव व्यवस्थापन गरे । गोठपानीस्थित घरमुनी मकैबारीमा गाडे ।

बुहारी नदेखेपछि सोनामका बाबुआमाले चासो देखाए । २ वर्षको छोराले आमा निकै खोज्यो । सोनामले घरपरिवारलाई वेपत्ता भएको भन्दै ढाँटे । सुम्निमा केही दिनयता सम्पर्कमा नआएपछि बन्दीपुरस्थित माइतीले चासो राखे । ज्वाईंलाई सम्पर्क गरे । उनीहरुलाई सोनामले ढाँटेर वेपत्ता भएको भने । खोजी भइरहेको सुनाए । बारम्बार ढाँटेपछि शंका गर्दै ससुरालीतर्फबाट जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरे ।

त्यसपछि अनुसन्धान अगाडि बढ्यो । अनुसन्धान गर्दै जाँदा केही प्रमाणहरु फेला पारेपछि सोनामसँग सोधपुछ भयो । उनले वास्तविकता लुकाउनै सकेनन् । हत्या गरी चौरीदेउराली गाउँपापलिका ९ गोठपानीस्थित घरभन्दा केही तल मकैबारीमा गाडेको सुनाए । ५ जेठमा शव झिकियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोनामले १ जेठको राति हत्या गरी २ जेठको विहान गाडेको बयान दिए ।

फेसबुकको प्रयोग र शंकालु पति सुम्निमा हत्याको कारण बन्यो । सुम्निमाको हत्यासँगै २ वर्षीय बालक टुहुरा भए । आमाको हत्या र बाबु जेलमा जाने भएपछि बालकको भविष्यबारे चिन्ता बढेको छ । बालकका हजुरबाबुलाई पनि बुहारीको हत्या भएको जानेर पनि लुकाएको अभियोगमा पक्राउ गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्