Logo

प्रधानमन्त्री ओलीमाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा काँग्रेसको पत्र



काठमाडौं, ६ जेठ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितको बैठकबाट निर्णय गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाहीको अनुरोधसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । आज बसेको बैठकले प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठमाथि आचारसंहिता उल्लंघनको ठहरसहित कारबाहीको अनुरोधसहित पत्र लेखेको हो ।

काँग्रेस संसदीय दलका कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा हस्ताक्षरित पत्रमा निर्वाचन आचारसंहिता विपरितको कार्य गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठमाथि कारबाहीको अनुरोध गरिएको भनिएको छ । प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेकपा एमाले पार्टीको अध्यक्षको हैसियतले र शिक्षामन्त्री श्री कृष्णगोपाल श्रेष्ठज्यूले सार्वजनिक अपिल मार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन भएको छ, काँग्रेसले आयोगलाई लेखेको पत्रमा भनिएको छ, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ भन्ने निर्णय गरेबमोजिम कारबाहीका लागि अनुरोध गरिन्छ ।’

राष्ट्रिय सभाको बागमती प्रदेशतर्फको रिक्त सदस्यको उपनिर्वाचनमा मौन अवधिमै अवधिमा कुनै पनि उम्मेदवार या तिनका समर्थकले मत माग्ने या त्यससम्बन्धी प्रचार प्रसारका गतिविधि गर्न पाउँदैनन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधि सुरु भइसक्दा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए ।

उनले आज एक अपिल जारी गर्दै बादल पार्टीको आधिकारिक उम्मेदवार रहेको उल्लेख गर्दै मतदान गर्न अपिल गरेका थिए । ओलीले अपिलमा भनेका थिए,‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो ।’ उनले त्यस्तो प्रवृत्ति क्षम्य हुन नसक्ने भन्दै चेतावनी समेत दिएका छन् ।

ओलीले अपिलमा पार्टीको एकतालाई सुदृढ गर्न योगदान गर्न जोड दिदै भनेका छन्,‘यस निर्वाचनमा पार्टीका उम्मेदवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आव्हान गर्दछु ।’ उनले बादलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुग्ने तर्क गरेका थिए ।

यसैगरी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको जिकिर गर्दै प्रधामन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने जिकिर गरेका छन् । उनले ओलीमाथि १ लाखसम्मको जरिवाना हुनसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्