Logo

सर्दै गौतम बुद्ध विमानस्थलमा परीक्षण उडान



भैरहवा, जेठ ७ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले फेरि प्रभावित भएको छ । परीक्षण उडानको सुरसार गरिरहेको आयोजनाको तयारी फेरि पर धकेलिएको हो ।

दोस्रो चरणको लकडाउन हुनुपूर्व आयोजनास्थलमा धमाधम उपकरण जडानको काम भइरहेको थियो । वैशाखको पहिलो सातामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्त्वपूर्ण उपकरण जडान सकिएका थिए । आयोजना परीक्षण उडानको अन्तिम चरणमा थियो ।

विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न विमानस्थल परिसरमा जडित उपकरण ठीक भएरनभएको र ती उपकरणले सही काम गरेरनगरेको बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला दोस्रो चरणको लकडाउनले आयोजनालाई फेरि प्रभावित बनाएको हो । विशेष विमान ल्याएर परीक्षण उडान कहिले हुने भन्ने सुनिश्चितता भने निषेधाज्ञासँगै अन्योलमा परेको छ ।

आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माण कार्यलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरिएको छ । आईसीबी टूअन्तर्गतको उपकरण जडानको काम सकिएको र जडानका लागि आयोजनास्थलमा युरोप, अमेरिका, अस्ट्रियालगायत मुलुकबाट आएका प्राविधिक फिर्ता भइसकेको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताए ।

परीक्षण उडानका लागि आवश्यक विशेष विमान ल्याउने काम सम्झौताअनरूप आईसीबी टूको ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीको भए पनि कोभिड–१९ का कारण त्यहाँको सरकारले विमान आउन अनुमति दिएको थिएन । यसको विकल्पमा सरकारले भारत र अस्ट्रियासँग कुरा अघि बढाएको थियो । कोभिडका कारण नेपाल पनि रिस्क जोनमा परेकाले थाइल्यान्डको विकल्पमा परीक्षणका लागि विमान ल्याउन अन्य मुलुकसँग पनि कुरा भइरहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्