Logo

राष्ट्रपतिमाथि महाअभियोग लगाउने निश्कर्षमा पुगेका छौं : रामचन्द्र पौडेल



काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका पदाधिकारी बैठक सम्पन्न भएको छ । आज विहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि जालसाजी गरेको भन्दै महाअभियोग लगाउने निश्कर्ष निकालेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीमाथि कारबाही गर्नेगरि आजको बैठकमा छलफल भएको हो । उनले भने,”राष्ट्रपति र प्रधानमन्त्रीले जुन किसिमले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभयो, यो गैरसंवैधानिक कदम हो । सरकार गठनको लागि थोरै समय दिएर जालसाजी भएको छ । संविधानमाथि जालसाजी भएको छ । प्रधानमन्त्री र राष्टपतिको यो कदमविरुद्ध कांग्रेस एकमत भएर उभिन्छ । संविधान बचाउनको लागि सबै पार्टीसँग कुरा गर्दैछौं । कुरा गरेर ठोस कदम चाल्छौं ।”

बैठकपछि प्रतिक्रिया दिँदै नेता डा. प्रकाशशरण महतले पनि नयाँ सरकार गठनको आह्वान नै गैरसंवैधानिक रहेको कुरा आजको बैठकले निश्कर्ष निकालेको छ । उनले भने-“राष्टपतिले हिजो संविधानको ७६ को ५ अनुसार सरकार गठन जुन आह्वान गर्नुभएको छ, संविधानको मर्म र भावनालाई फेरि पनि बेवास्ता गरेको हाम्रो ठहर छ । यो सरकार ७६ को ३ बमोजिम बनेका प्रधानमन्त्रीले राजीनामा नदिईकन । विश्वासको मत प्राप्त गर्न नसकेपछि धारा ७६ को ५ को प्रक्रिया अघि बढाएर यथेष्ट समय दिनुपर्दथ्यो । निरन्तर रुपमा संविधानको मर्म र भावनालाई कुल्चिने काम धेरै अघि देखि भैरहेको छ । राष्टपतिले पनि पटक पटक त्यो किसिमको प्रवृत्ति देखाएको प्रष्टै छ ।”

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्