Logo

राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारीमा विपक्षी गठबन्धन, सिंहदरबारमा निर्णायक छलफल सुरु



काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनेगरि विपक्षी गठबन्धनको छलफल सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै सुरु भएको छलफलमा नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालपनि सहभागी छन् । यसअघि उनीहरु आज विहान कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा छलफलमा जुटेका थिए ।

उक्त छलफलपछि अहिले सिंहदरबारमा पूनः एकपटक छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिविरुद्ध निर्णायक कदम चाल्ने सहमति भएको थियो । त्यसकै लागि उनीहरु छलफलमा जुटेका हुन् । आजको छलफलमा संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनको लागि पनि दाबी गर्ने तयारी छ ।

तर, त्यो भन्दा पनि राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने निश्कर्षमा उनीहरु पुगेको बताईएको छ । छलफलमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल, एमाले नेता माधव नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी छन् । उनीहरु जसरी भएपनि प्रधानमन्त्री ओलीलाई संसद विघटन गरेर चुनावमा जानबाट रोक्ने रणनीतिमा छन् । नयाँ सरकार गठनको लागि कांग्रेस सभापति देउवाको अलावा माधव नेपाललाई पनि अघि सार्नेबारे छलफल भएको छ ।

राष्ट्रपति प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको मतियार बनेको र संस्थाको ओझ कायम राख्न नसकेको विपक्षी गठबन्धनको आरोप छ । हिजोमात्रै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिशमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको लागि आह्वान गरेकी छिन् । उनले आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।

तर, विपक्षी गठबन्धनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान मास्नेगरि कदम चालेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले संसदमा विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा कसरी धारा ७६ को ५ बमोजिम सरकार गठन हुन सक्छ ? भन्दै उनीहरुले राष्ट्रपति प्रधानमन्त्रीको स्वार्थको लागि संविधानविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । Photo : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्