Logo

देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा



काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाका १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । उनले हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाएका हुन् ।

देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका सांसदको साथ रहेको छ । हस्ताक्षर गर्नेहरुमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको १७ र बाँकी एमालेका माधव नेपाल समूहका सांसदहरु रहेका छन् । नेपाल समूहका २२ सांसदको हस्ताक्षर रहेको छ । उनीहरु प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् ।

जसपाका ३२ संसद रहेकामा १५ सांसदको हस्ताक्षर छैन । तर, महन्थ ठाकुर समूहले हस्ताक्षरमाथि प्रश्न उठाउने बुझिएको छ ।

नेकपा एमालेबाट हस्ताक्षर गर्ने सांसदहरुबारे पनि प्रश्न उठ्ने बुझिएको छ । उनीहरु एमाले संसदीय दलबाट कारबाहीमा पर्न सक्छन् ।

१४९ सांसदको हस्ताक्षर भएपनि राष्ट्रपति कार्यालयले त्यसलाई सदर गरेर मात्र प्रक्रिया बढाउने तयारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार गठनका लागि प्रतिनिधि सभाका सदस्यहरुलाई आव्हान गरेकी थिइन् । उनले आज साँझ ५ बजेको समयसीमा तोकेर सरकार गठनको आव्हान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनको दौडधूप चलेको थियो ।-तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल 

Featured Photo Source/Ganga Dahal



प्रतिक्रिया दिनुहोस्