Logo

नियात्रा : इस्तानबुलमा अप्सराको बोलावट



लव गाउँले : २८ असोज २०६९ को राति म आकाशमा छु । पश्चिम पश्चिम भएर गल्फ एअरको २६१ उडानमा । उडेको १ घण्टा २० मिनट भैसकेकाले अब म भारतको भूमि नाघेर पाकिस्तानको पठारमाथि माथि उड्नेछु । यतिबेला मलाई ठ्याक्कै सुनुको सम्झना आइदियो । आत्मीयका साथ उसलाई म कुनै बेला पनि सुनु, सुनकुमारी र सुन्तली पनि भन्छु ।

ऊ थिई पूर्वतिरकी विवाहित महिला तर काठमाडौंको जागिरे । हामी एकअर्कासँग एसएमएसमार्फत सम्पर्क गर्थ्र्यौँ । पक्का सूचना । गोप्य । नितान्त व्यक्तिगत । कसैले थाहा नपाउने, कुरा नकाट्ने र आँखा पनि नलगाउने । हामी एकअर्काका दुःखसुख बाँड्थ्यौँ । डर अनेक थिए, अझ महिलाहरूलाई झन् बढी हुन्छ नै । तर ती पन्छाएर उसले मलाई समर्पण गरी । मेरा लागि उसको त्यो त्याग थियो । काठमाडौंमा कसैलाई मायाले थपथपाउने हातभन्दा कोपर्ने नङ्ग्राहरू धेरै हुन्छन् । सहानुभूतिपूर्वक हेर्ने आँखाभन्दा घोच्ने नजरहरू धेरै हुन्छन् ।

हामीले कफी खायौँ । उसको लोग्नेको फोन आयो । मैले उसलाई उसको डेरा नजिक ड्रप त गरिदिएँ । तर सुनुको फोन आएन । एसएमएस पनि आएन । शायद उसको लोग्नेले थाहा पाएर भन्न हुने नहुने सबै भन्यो कि ! कुट्यो कि ! उसले कति चित्त दुखाई होली ! ऊ कति रोई होली ! त्यो आँसुको पीडाको महसुस त म गर्न सक्दिनथेँ तर त्यो आँसुले म भिजिरहेथेँ जहाजमा । स्थानीय समय राति ११ः०५ जहाज पानीमाथि बाँकटे हान्दै फनफनाएर बहराइन एअरपोर्टमाथि दगुर्न थाल्यो ।

यो यात्राको एरेन्ज मैले नै गरेको थिएँ । अफिसले मलाई गुन लाइदिएको थिएन । म एउटा आयोजनाको प्रोजेक्ट म्यानेजर भएकोले आयोजक देशले मलाई कार्यक्रममा भाग लिन भनेको थियो । त्यसैले जाते आते हवाई टिकट, होटल खर्च र डीएसए (डेली सब्सट्यान्सियल एलाउन्स, हामी दैनिक भत्ता भन्छौँ प्रोजेक्टबाट मिलाएँ जो अनुदान दिने संस्थाले सोधभर्ना गर्थ्र्यो) सबै व्यवस्था गर्दा मध्यरातमा कहाँ जाने भनेर मैले मुक्तककार रामकाजी कोने दाइको ट्राभल एजेन्सीबाट टिकट र होटलको प्रबन्ध गरेको थिएँ । (पैसा भुक्तानी गरेर है ।) तर पैसा कार्यक्रमबाट फर्किएपछि दिए पनि हुन्थ्यो । ट्राभल डिल म उनका स्टाफहरूसँग गर्थेँ ।

खाडी मुलुकको एअरपोर्ट धेरैपल्ट बाउन्डेड भएको मलाई यसपल्ट खाडी मुलुक छिर्ने अवसर मिल्यो । एक्जिट गेट पुग्नुअघि गल्फ एअर सर्भिस काउन्टरमा अर्डर स्लिप देखाएपछि एक पाको मान्छेले मलाई एकछिन बस्न अर्डर गर्यो । झन्डै २०-२५ मिनेट बितेपछि मलाई एउटा ड्राइभरले भ्यानमा त हाल्यो । फेरि ऊ २० मिनेटजति बेपत्ता भयो । त्यो बेपत्ते ड्राइभर आइपुगेर भ्यान यति बेपत्तासँग दौडायो कि दसैं मिनेटमा गल्फ गेट होटल पुर्यायो । १३१ नं.को कोठामा बसेर मैले इम्याजिन मुभिज च्यानलबाट आइरहेको धुमधडाक हिन्दी फिल्म हेरेँ ।

मलाई होटल कोठा के नपुगेको, के नमिलेको जस्तो असजिलो लागिरहेको थियो । मुस्लिम देशहरूमा बहराइन अलि नरम र मज्जा पनि छ, सायद मैले सुनेको थिएँ । तल डिस्को फ्लोरमा रातभरि केटीहरू नाचेको र उनीहरूको भद्दा हाँसो सुनिन्थ्यो । सङ्गीतको आवाजको त कुरै छोडौँ । मेरै खाटसमेत जुरुकजुरुक उचालिरहेको थियो । म निदाउनै सकिन । हेर्न जाऊँ भने डलरमा डामिनु पर्ने ! चुप लागेर बसेँ ।

म नुवाइधुवाइ सकेर एकैपल्ट लगेज बोकेर कोठाबाट निस्किएँ । रेष्टुराँमा निःशुल्क बिहानी (निरीह) भोजन खाँदैथेँ । त्यै मोरो हिजोको बेपत्ते ड्राइभर मलाई खोज्दै आइपुग्यो । मैले फ्रि वाइफाई राम्रो प्रयोग नगर्दै खाई भ्याएँ । बेलुकी बन्धकी राखेको पासपोर्ट मुक्त गराएँ । बहराइन सुन्दर र सफा शहर रहेछ । अग्ला अग्ला बिल्डिङहरू र समुद्रका किनारहरू, ठाउँ ठाउँमा खण्ड खण्ड परेका र तेस्माथि थुम्का थुम्का हरियाली पनि । मैले भ्यानबाट भ्याएजति तस्बिर खिचेँ । ड्राइभरले बेपत्ताले मलाई इमिग्रेसन पुर्यायो ।

जहाज ठीक समयमा उड्यो ३ घन्टा ३५ मिनेटको लक्ष्य लिएर स्तानबुलका लागि । स्तानबुल र बहराइनको समय उही थियो । त्यसैले टर्कीलाई एसियाकै देश मान्ने गरिएको रहेछ । स्तानबुल एअरपोर्टमा यति भीड थियो कि म आत्तिएँ । आधा घण्टा जतिमा भीड त खर्लप्पै रित्तिगो । मैले मेरो नीलो पासपोर्ट भिसाको लागि साउथ अफ्रिकन हाई कमिसन कार्यालय श्रीलङ्का पठाएको र टर्की जानुपर्ने समय सीमा छोटो भएकोले नयाँदिल्लीबाट हरियो पासपोर्टमै भिसा लिएको थिएँ । इमिग्रेसन अफिसरले यति धेरै नियालेर चेक गर्यो कि म उभिइ नै रहेँ । आफूले केही बोल्न नमिल्ने । धेरैबेरपछि उसले पासपोर्टमा ड्याम्म स्ट्याम्प हान्यो । तत्पश्चात् लगेज चेक गर्न जान्छु त कहीँ देख्दिन ।

मैले सोचेँ, साउथ अफ्रिकामा जस्तै मेरो लगेज छुट्यो । म लगेज कलेक्सन गर्ने सेक्टरमा यताबाट उता, उताबाट यता सारै भौतारिएँ । एउटा स्टाफले तेरो सामान कुन बेल्टमा आउँछ हेर भन्यो । स्क्रिनमा हेरेँ । बेल्ट ९ नौमा बिचरा मेरो लगेज मलाई पर्खिरहेको रहेछ । च्याप्प समातेँ । अँगालो हाल्न मिलेन । मैले ३५ डलर साटेँ । ‘हवाट्स एअरपोर्ट सटल’ बाट मैले बुक गरको होटल जान १० टीएल (टर्किस लीरा) तिरेँ । सटलले ३० मिनेट दगुरायो । कति सुन्दर शहर । कति मनमोहक नीलो पानी । कति राम्रा हरिया रुखका भुन्डहरू । म टकसिम बस स्ट्याण्डमा ओर्लिएँ । त्यहाँबाट सोध्दै खोज्दै लगेज घिसार्दै बल्लतल्ल १.३ किलोमिटर पर रहेको होटल ‘सिरेफ’ (थ्री स्टार भनेर विज्ञापन गरेको देखेकोथेँ बुकिङ गर्ने बेलामा । यत्रो स्टार हुन्थ्यो !? जूनकिरी जस्तो रहेछ । भर्याङबाट लगेज तान्नै सास्ती) पुगेँ… ।

मेरो कार्यक्रम हुने ठाउँ दी इलाइट वर्ल्र्ड होटल थियो । म उपयुक्त समयमा होटल पुग्न निस्किएँ । मलाई थाहा थिएन, म बसेको होटल कमर्सियल सेक्स वर्करको इलाका रहेछ । हिँड्दाहिँड्दै देखेँ, एउटी बूढी तिघ्रा पड्काउँदै थिई । म हिँडिरहेको थिएँ । ऊ मेरो नजिक आई र मेरो चाकमा एक थप्पड मारी । के भन्ने ? मैले कसरी थाहा पाएँ, ऊ को थिई ङ सेक्स वर्कर, मध्यस्थकर्ता वा अरु कोही ।

टकसिम ऐतिहासिक शहर रहेछ । घरहरू एक अर्कासँग कुम जोरेर उभिएका देखिन्छन् । म बसेको होटलबाट टकसिम स्क्वायर पुग्न दस मिनट लाग्थ्यो । एकदम लामो लमतन्न सुतेको बाटो । बाटोका दायाँ बायाँ ठाडा र भिरालो गल्लीहरु छन् । ठाडा गल्ली छेउ भद्दा शृङ्गारमा लतपतिएका आइमाईहरू ग्राहक कुरी बसेका देखिन्छन् । मेरो त बिहान बेलुकी हिँड्ने बाटो नै यही थियो । नहेरुँ भन्दा पनि आँखाहरू ठोकिइहाल्ने । बरु सिङ्गापुरमा देखेथेँ रहरलाग्दा चाइनिज च्यान्टीहरू । यहाँ त हेर्दै दस बेते भैँसीहरूजस्ता देखिन्थे ……!

म बस्ने होटलबाट कार्यक्रम हुने फाइभ स्टार होटलसम्मको आधा घण्टाको बाटो हिँडेर जान म पोख्त भैसकेको थिएँ । बिना कुनै तनाव मज्जाले हिँडेर पुग्न सक्ने । कार्यक्रम समापन २ बजे नै भयो । म घर फर्किन हतारिएँ । तीन दिनको कार्यक्रमलाई जातेआते दिन जोड्दा एक हप्ता लाग्ने । फर्केको पाँच घण्टा समय इमेल र च्याटबाट फ्लाइट रिसेड्युलिङ गर्दै बित्यो । आयोजकले बेलुकी सिटी टुर कम इस्तानबुलको क्रुज यात्रा राखेको थियो व्यक्तिगत ५८ युरो खर्च गर्ने गरी । त्यहाँ मेरो साथी भनेको ‘केमा कस्तुर्या’ नामकी सिँहाली थिई । मसिनी मसिनी डल्ली । हामी एअरपोर्ट जाने सटल बस निश्चित गर्न निस्कियौँ लञ्चपछि । बाटोमा खित्रिक खित्रिक गरेर पाँच सातवटा फोटो हान्यौँ । उसले मलाई बेलुकी ऊ बस्ने होटल बोलाएकी थिई । ऊ रुम अरू कुनै महिलासँग सेयर गरेर बसेकीले म गइनँ । उसलाई छोडेर म फर्किंदै थिएँ । म बस्ने होटलकै छेउमा छाला व्यापारीहरू लट्ठारिरहेका देखेँ । दारु बढी लडाएर हो कि ?

टर्की मुस्लिम देश भए पनि यौनको मामला उदार लाग्ने । मैले टिभीमा नग्न फिल्महरू हेरेको थिएँ । फुटपाथ छिचोल्नै गारो भयो मलाई भीडले गर्दा । बल्लतल्ल पार गर्दै होटल कोठा छिर्ने बेलामा पानी सम्झिएँ । म फेरि पानी किन्न निस्किएँ । हिँड्दा हिँड्दै यस्सो दायाँतिरको गल्लीतिर फर्किएको त रातो टिसर्ट, जिन्स कट्टु, हाई हिल र भ्यानिटी ब्याग बोकेर चुरोट तान्दै गरेकी एक भद्दा अप्सराले मलाई बोलाइहाली । त्यतिबेला मेरो दिमागमा न कुनै प्रतिक्रिया, न उत्साह र मनमा न कुनै तातो लहर नै उठ्न सक्यो । म सरासर आफ्नो गन्तव्यतिर बढेँ, बढि नै रहेँ । उसलाई फर्केर हेरिन !

आज होटल सिरेफको १०४ नं कोठा छोड्नु पर्थ्र्यो । बेलुकी अलि मजाले मालपानी लडाएर चाँडै सुतेको बिहानी ३ बजे नै ब्युँझिहालेँ । नेपालदेखि लगेको रक्सी तुरिइसकेको थियो । के गर्ने ? बाहिर निस्केर कुनै बारमा गएर रमाऊँ भने पनि फेरि उनै छाला व्यापारीहरुको कब्जामा पर्ने डर । चूप लागेर टिभी खोलेँ । भाषा नबुझे पनि दृश्य उही उदाङ्गो ! छाला उही नग्न….!

टर्कीमा ७ नबजी राम्रो उज्यालो नहुँदो रहेछ । ब्रेकफास्ट ८ बजे सुरु हुने । ट्राभल टिकट एजेन्टले मलाई प्राथमिकता नदिएकोले होला म बिहीबार टर्की छोड्नु पर्ने मान्छेको टिकट शनिबार झिसमिसे २ः३५ को सेड्युल बनाइदिएछ बहराइनका लागि । हिँड्ने बेलामा दुई दिनको अतिरिक्त बिल तिरेँ त्यो पनि युरोमा । ब्रेकफास्ट खान पहिलो तल्लाबाट छैठौँ तल्लामा उक्लिनुपर्थ्र्यो । लिफ्ट चार तल्लासम्ममै सीमित थियो ।

होटल छोड्ने बिहान सधैँ झैँ काँक्रोका चार पातला चाना, आठ गेडा जति अलिभ, एक टुक्रा पनिर, झण्डै पर्खाल बिर्साउला झैँ ठड्याएर राखेको गोलभेंडाको एक सरो टुक्रा, एक कप चिया, बटरको सानो पाउच र नेपालका कुनै एक प्रधानमन्त्रीको कान जत्रो तीन पिस पाउरोटीको ढक्की आयो । मैले सेफ–कम–टेबुल ब्वाईलाई मैले मेरो फोटोहरू खिच्न लगाएँ । कत्ति न जान्ने जस्तो उसले मलाई एन्टीलाइटतिर फर्काएर फोटो खिच्यो (मसँग त्यतिबेला अस्ट्रेलियाबाट ल्याएको क्यानन कम्पनीको महँगो एनालग क्यामरा थियो) । फोटो धुलाएर हेर्दा त फोटोहरू डढेको पाउरोटी जस्ता देखिन्थे ।

छैँठौं तल्लाको सुन्दर पक्ष के थियो भने यहाँको झ्यालबाट हेर्दा इस्तानबुल शहर मजाले देखिन्थ्यो । सारै सफा र फराकिला सडक । सडकका दायाँबायाँ मनै आनन्द गराउने हरियाली । झ्यालबाट मुन्टो स्लाइटली उठाएर हेर्दा यति सुन्दर र मनमोहक मारमरा र ब्ल्याक समुद्र देखिन्थ्यो । बिहान हेर्दा अनन्त आकार फैलिएको नीला पानी, क्रुजहरू र रिसोर्टहरू देखिन्थ्यो भने बेलुकी हेर्दा झलमल्ल देखिन्थ्यो मानौं जून ताराहरूसहित आकाश खसेर त्यहाँ आराम गरिरहे जस्तो । मलाई लाग्यो यो स्वर्ग दृश्यलाई हातमा लिएर खेलाउन मैले मिस गरेछु ।

बाह्र बज्न बाह्र मिनेटमा म कोठाबाट निस्किएँ र लाउन्जको अफिस कोठामा लगेज राखेँ । इस्तानबुलमा मैले एफ्स, फिसी, बामान्ती, क्यारालोना बियर खाइसकेको थिएँ । आज ७.५ भोल्यूम अल्कोहल भएको एक्स्ट्रा नामको बियर ठोकेँ १२, २, ४ र ५३० बजेसम्म र म सुस्तरी लगेज लिएर होटलबाट निस्किएँ ।

म कार्यक्रमबाट फर्केर आउँदा सधैँ एउटा लिकर सपसँगैको फुटपाथमा राखिएको कुर्सीमा बसेर बियर पिउँथेँ । यहाँ थाइल्याण्डको पतायामा जस्तो ठूला ठूला ओपन स्पेस बार देखिन । पसलसँगै सटिएको फुटपाथमा बसेर बियर खानुपर्थ्र्यो । म त्यही पसल छेउ बसेर लगेज अड्याउँदै बियर तान्न थालेँ । मनमा चाहिँ छाला व्यापारीहरुले भेटेर घेर्ने हो कि भन्ने आतङ्क भैरहेकाले बियर त्यति स्वादिलो लागिहेको थिएन ………..!

म लगेज लतारेर टकसिम स्क्वायर पुगेँ दस मिनेटमा । मसँग एअरपोर्टको लागि भनेर किनिएको ५०० एमएल बियरको क्यान साथै थियो । हवाटस सटल एक्स्प्रेसले एअरपोर्ट छेउ छोडिदियो । संयोग कस्तो भने १० टर्किस लिरा (१५० ने.रु). उनीहरुले पनि मागेनन्, मैले पनि दिन बिर्सिएँ । डिपार्चर लाउन्जमा फतिमा नामकी साह्रै राम्री (अपवादमा के होला, संसारमा मुस्लिम केटीहरु असाध्य राम्रा हुन्छन् तन, मन र ज्यान लुट्ने) युवती जो जर्मनीमा जन्मेर अरबिक भाषा सिक्न टर्की आएकी थिई । हामी अन्तरङ्गमा रङ्ग थप्दै थियौँ । बीचैमा एउटा रावण आएपछि ऊ बेपत्ता भई ।

डिपार्चर लाउन्जभित्र रसियन आइमाई भेटिई । मैले उसलाई अँगालो हाल्दा सम्भोग गरे भन्दा नि आनन्द लाग्यो । त्यति नरम जिउ रहेछ । उस्ले लोग्ने बोलाई । हामीले गफ गर्यौ । लोग्ने फोटोग्राफर रहेछ । उस्ले हामी दुईको अनुहार क्यामरामा दुईपल्ट खित्रिक खित्रिक गर्यो । फोटो खिच्दा महिला मसँग लपक्कै टाँसिई । हेर्दा अराउण्ड पचासकी भए पनि उस्को शरीर फोम जत्तिकै लचिलो थियो । तेसैले म उसलाई बिर्सन सकिरहेको थिइन ।

इस्तानबुलको आताटर्क अन्तर्राष्ट्रिय विमानस्थलबाट गल्फको ०४६ बिमान उडेर बहराइन आइपुग्यो । मैले ड्युटी फ्री सपमा बाई टु गेट वन फ्री भ्याट–६९ रक्सी र केही चकलेट किने । त्यहाँ खाडीमा रगत पसिना बगाउने नेपाली दाजुभाइहरु दशैँ मनाउन घर फर्किन हतार गरिरहेका थिए । म एक छेउमा बसेर खुसीले मुस्कुराइरहेँ ।

टर्की २०१२

 

 



प्रतिक्रिया दिनुहोस्