Logo

इतिहास : सगरमाथाबारे चीनसँग यस्तो अडान लिएका थिए बीपीले



होराप्रसाद जोशी : अखबारमा सगरमाथा आरोहणको समाचार  आइरहेका बेला बीपी याने विश्वेश्वरप्रसाद कोइरालालाई झलझली सम्झन्छु । अनि मनमनै भन्छु, बीपी पनि नेपाली नै थिए । कुरा धेरैअघिको होइन सिर्फ तीन दशक चानचुनअघिको हो । २०१५ सालको फाल्गुण महिनामा भएको सर्वप्रथम आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरी विजयी भएपछि विश्वेश्वरप्रसाद कोइराला नेता चुनिनुभयो र उहाँको नेतृत्वमा मन्त्रीमण्डल गठन भयो । नेपालको इतिहासमा जनताद्वारा निर्वाचित पहिलो प्रधानमन्त्री हुने गौरव प्राप्त गर्नुभयो बीपीले ।

प्रधानमन्त्री हुनुभएको केही महिनापछि जनतान्त्रिक चीनका प्रधानमन्त्रीको आमन्त्रणमा आफ्ना सहयोगी सूर्यप्रसाद उपाध्याय तथा गणेशमान सिंहका साथ प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा जानुभयो । चीनको प्रवासमा हुनुहुँदा नै उहाँको आदेश आयो अनि काठमाडौँमा भव्य जुलुसको आयोजना भयो र ‘सगरमाथा हाम्रो हो’ को नारा लगाउँदै भव्य जुलुसले सहरको सेरोफेरो घुम्यो । चीनबाट फर्कनुहुँदा पनि ‘सगरमाथा हाम्रो हो’ भन्ने नारा लगाउँदै विशाल जनसमूहले प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको स्वागत गर्यो । जनतन्त्र चीनका महान् नेता माउत्सेतुङको सगरमाथा साझा बनाउने प्रयासको विरोध गरेर विश्वेश्वरप्रसाद कोइरालाले आफूलाई सच्चा स्वाभिमानी नेपाली प्रमाणित गर्नुभएकोमा हामी सबै गौरवान्वित भयौँ ।

२०१७ सालको वैशाखमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आमन्त्रणमा जनतन्त्र चीनका प्रधानमन्त्री चाउ एनलाई आफ्ना सहयोगी मार्सल चेनीका साथ नेपाल भ्रमणमा आउनुहुने तिथि निश्चित भएपछि स्वागत समिति गठन भयो र सो स्वागत समितिको अध्यक्ष यस लेखकलाई बनाइएको थियो । निश्चित तिथि र समयमा आफ्ना दलबलसहित महान् चीनका प्रधानमन्त्री चाउ एनलाई आउनुभयो । अतिथिको स्वागतमा कुनै प्रकारको कमी नहोस् भन्ने विश्वेश्वरप्रसाद कोइरालाको हार्दिक अभिलाषा थियो । स्वागतमा कुनै त्रुटि हुन दिएनौँ पनि ।

पाँच दिनको प्रवासकालको चार दिन हँसीखुसीसाथ बिते । पाँचौं दिन बिहानै सबेरै शीतल निवास पुगी सवारी चलाउने तरखरमा लागेकै बखत प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला आइपुग्नुभयो । अतिथि प्रधानमन्त्री चाउ एनलाई तथा मार्सल चेनी र चिनी दोभाषेका साथ प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र यो लेखक मात्र थियौँ । चीनका प्रधानमन्त्री चाउ एनलाईले भन्नुभयो– ‘अब दूतावास खोल्ने भएपछि वायरलेस सेटबारे पनि तय हुनुपर्यो । हाम्रा लागि एउटै सेट भए पनि पुग्छ तर तपार्इंका लागि ल्हासा र पेकिङ दुवै ठाउँका लागि चाहिएकाले समानताको आधारमा दुई सेट राख्ने तय गरौँ ।’

विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभयो– ‘ठीक छ ।’

चीनका प्रधानमन्त्री चाउ एनलाईले फेरि कुरा सुरु गर्दै प्रस्ताव गर्नुभयो– ‘अब एभरेस्टबारे पनि वाटर सेड प्रिन्सिपलमा तय गरौँ ।’

प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभयो– ‘सगरमाथा नेपालको हो र सगरमाथाप्रति नेपाली जनताको भावना गाँसिएकोले पानीढलुवा सिद्धान्तका आधारमा तय गर्न सकिने अवस्था छैन ।’

चाउ एनलाईले भन्नुभयो– ‘एभरेस्टसँग चीन जनताको सेन्टिमेन्ट पनि छ ।’

विश्वेश्वरप्रसादले भन्नुभयो– ‘एभरेस्टको चीन भाषामा नाम नै नभएकाले चीन जनताको भावना याने सेन्टिमेन्टको प्रश्न नै आउँदैन ।’

चाउ एनलाईले भन्नुभयो– ‘छ, एभरेस्टलाई चोमोलुङ्मा भन्छौँ ।’

विश्वेश्वरप्रसादले भन्नुभयो– ‘त्यो त तिब्बती नाम हो ।’

यस लेखकलाई पनि के भो के प्वाक्क बोलिहालेँ– ‘एभरेस्ट याने सगरमाथाको उत्तरीभन्दा पनि तलको रोम्बुक मोनास्ट्रीले नेपाललाई तिरो बुझाई आएकोबाट पनि सगरमाथा नेपालको हो भन्ने देखाएको छ ।’ चीनका प्रधानमन्त्रीले उसो भए दुवै देशका जनताको भावनात्मक विषय भएकाले यथावत् नै राखौँ भनी कुरा टुंग्याउनु भयो । अनि विमानस्थलतिर लाग्ने तरखरमा लाग्यौँ ।

विश्वमा महान् कूटनीतिज्ञ कहलिएका जनतन्त्र चीनका प्रधानमन्त्री चाउ एनलाईसँग दृढताका साथ सगरमाथालाई लिएर कुरा गर्नुभएको देखेपछि विश्वेश्वरप्रसाद कोइराला मातृभूमिप्रति प्रतिबद्ध सच्चा नेपाली हुनुहुँदो रहेछ भन्ने राम्ररी जानकारी भयो ।

श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवबाट २०१७ साल पौष १ गते विशेष ऐतिहासिक कदम उठाइबक्स्यो । विश्वेश्वरप्रसाद कोइराला तथा उहाँका सहयोगी सबै गिरफ्तार भए । प्रजातन्त्रको अन्त्य भयो । प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला तथा उहाँका सहयोगीउपर विभिन्न लाञ्छना लगाइयो र जोडतोडका साथ प्रचार–प्रसार गराइयो । ती विभिन्न लाञ्छनाहरुमध्ये एउटा लाञ्छना थियो– देश बेच्न लागेको पनि ।

श्री ५ महाराजाधिराज सरकारले प्रत्यक्ष शासन प्रारम्भ भएपछि चीन सरकारको निमन्त्रणामा श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवबाट चीनको भ्रमण गरिबक्स्यो । मौसूफ सरकारको आप्रवासमा चीन सरकार तथा श्री ५ को सरकारका बीच वाटर सेड याने पानीढलुवा सिद्धान्तका आधारमा सीमासन्धि भयो । सो सन्धिअनुसार दक्षिणतर्फबाट सगरमाथा आरोहण गर्नेले श्री ५ को सरकारको र उत्तरतर्फबाट आरोहण गर्नेले चीन सरकारको स्वीकृति लिनुपर्ने भयो । एभरेस्ट अब नेपालीको सगरमाथा र चीनको चोमोलुङ्मा हुने भयो ।

श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव चीन भ्रमणबाट फिर्ता सवारी होइबक्सँदा टुँडिखेलमा बृहत् सभाको आयोजना भएको थियो । मौसूफ सरकारबाट सो बृहत् सभालाई बक्सेको सम्बोधनमा– सगरमाथा जहाँ थियो त्यहीँ नै छ र त्यहीँ नै रहने छ हुकुम भयो । मौसूफ सरकारको भाषण सुन्दै थिएँ, मेरो आँखाअगाडि विश्वेश्वरप्रसाद कोइराला थिए । नजिकै आएर कसैले करायो, ‘सगरमाथा हाम्रै हो’ । म झसँग भएँ । घण्टाघरनिरको नेसनल टोबाको कम्पनीले सगरमाथा चुचुरो त्यसै दिन निकालेको रहेछ ।

पूर्वमन्त्री जोशीको पुस्तक नबिर्सने ती दिनहरूबाट



प्रतिक्रिया दिनुहोस्