Logo

संसद् विघटन असंवैधानिक कदम भएको भन्दै सभामुख सापकोटाले निकाले वक्तव्य



काठमाडौं, ८ जेठ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हिजो मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिएका छन् । उनले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आज एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले भनेका छन्-” यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ । सम्मानित सर्बोच्च अदालतको उक्त फैसलामा ‘अन्य विकल्प हुँदा हुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उदेश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन’ उल्लेख भएको यहाँ विशेष स्मरणीय छ ।”



प्रतिक्रिया दिनुहोस्