Logo

गोदाममै थन्कियो ४ अर्ब रुपैयाँको तयारी कपडा



काठमाडौं, जेठ ९ । गर्मी मौसमलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मुलुकबाट आयात गरेका करीब ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर व्यापारीका गोदाममा थन्किन पुगेका छन् । कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण कपडा विक्री हुन नसकेर गोदाममा थन्किन पुगेको हो ।

गर्मी मौसमका कपडा बढी विक्री हुने समय वैशाख महीनामा महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि अर्बौं रुपैयाँको सामान गोदाममा थन्किन पुग्दा व्यापारीहरू निराश हुन पुगेका छन् । गतवर्ष पनि गर्मी मौसम शुरू हुनै लाग्दा बन्दाबन्दी शुरू भएकाले करीब ३र४ अर्ब रुपैयाँको गर्मी मौसमका लागि आयात गरिएका तयारी कपडा व्यापारीहरूका गोदाममै थन्किएको थियो । यस वर्ष पनि त्यही प्रक्रिया दोहोरिएको नेपाल–चीन व्यापारमा संलग्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले बतााए ।

‘गतवर्षकै मौज्दात रहेको कपडा विक्री हुन सकेको थिएन यस वर्ष पनि करीब ४ अर्ब रुपैयाँको सामान मौज्दात हुन पुग्यो,’ उनले भने । असनमा रेडिमेड कपडाको थोक व्यापार गर्दै आएका राजेशमान श्रेष्ठले कोरोना महामारी कम हुँदै गएको जस्तो देखिएकाले गर्मी महीनाका लागि करीब १५ लाख रुपैयाँको कपडा आयात गरेका थिए । त्यसमध्ये उनले ५ लाख रुपैयाँको कपडा पनि विक्री गर्न नपाउँदै निषेधाज्ञा शुरू भयो ।

‘अब कहिलेसम्म निषेधाज्ञा लम्बिन्छ थाहा छैन । त्यसैले व्यापारमा गरिएको लगानी डुब्छ कि भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भने । एकातिर बैंकको ऋण, ब्याज, सटरको भाडा चालू छ । तर, यता व्यापार ठप्प छ कसरी गुजारा चलाउने भन्ने कुराले आफूजस्ता धेरै व्यापारीलाई पिरोल्न थालेको उनले सुनाए ।

निषेधाज्ञा थपिँदै गएमा अहिले व्यापारीहरूका गोदाममा थन्किएका तयारी कपडा जाडो समयका लागि काम लाग्दैनन् । त्यसैले अर्को वर्षको गर्मी शुरू हुने बेलासम्मका लागि अहिले गरिएको लगानी फिर्ता नआउने सम्भावना रहेको व्यापारीहरूको भनाइ छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्