Logo

राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘दिमाग भरी गोबर’ भन्दै पोत्ने नेविसंघ नेता पक्राउ



काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदम संसद विघटनको खारेजीको माग गर्दा नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट पक्राउ गरेको सर्लाही–काठमाडौं सम्पर्क समितिका सभापति मनिष रायमाझीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै नेविसंघले गरेको रचनात्मक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । नेविसंघ केन्द्रको समन्वयमा प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा विद्यार्थीहरु उत्रिएका थिए । आजै नेविसंघले राँके जुलुस निकाल्नुका साथै पुत्ला दहनसमेत गरेको छ ।

नेता त्रिपाठीलाई पक्राउ गर्नु लोकतन्त्र र संविधान माथीको कु हो भन्दै नेपाल विद्यार्थी संघ डटेर लाग्ने र नेता त्रिपाठीको रिहाइ नभए सम्म सडक संघर्षमा उत्रने चेतावनी नेविसंघका नेता रायमाझीले दिएका छन् । प्रदर्शनमा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई गर्नुपर्ने नेविसंघका महामन्त्रीहरु दीपक भट्टराई र बलदेव तिमल्सिनाले माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्