Logo

एमाले फुटाउने माधव नेपालको पूर्वतयारी, कलम चिन्हसहित नेकपा एकीकृत दर्ता गर्न लगाएको खुलासा



काठमाडौं, ९ जेठ । कुनैपनि बेला नेकपा एमाले विभाजन हुने संकेत पाएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दल दर्ता गर्न लगाएको खुलेको छ । उनले आफू निकट नेता जीवन राईलाई नेपाल कम्युनिस्ट पार्टी एकीकृत दर्ता गर्न लगाएको खुलेको हो ।

७ वैशाखमा राईले पार्टी दर्ताको निवेदन दिएका थिए । उनले चुनाव चिन्ह कलमका लागि निवेदन दिएको थिए । कलम चिन्हबाट माधव नेपालनिकट डा. खिमलाल देवकोटाले राष्ट्रिय सभाको उपनिर्वाचन जितिसकेका छन् । खिमलालले कलम चिन्ह लिएर चुनाव जित्नु र राईले कलम चिन्ह मागेर दल दर्ता गर्नु संयोग मात्र होइन ।

जीवन राई विगतमा अनेरास्ववियूको उपाध्यक्षका उम्मेदवार थिए । उनी माधव नेपाल समूहबाट उम्मेदवार बन्दा केपी शर्मा ओली समूहका नेतासँग पराजित भएका थिए ।
निर्वाचनको मिति घोषणा भइसकेपछि दल दर्ता गर्न पाइँदैन । त्यसैले नेपाल समूहले पहिल्यै नै दल दर्ताको निवेदन दिएको खुलेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजनको सम्भावना बढ्दा नेकपा एमाले दल दर्ता गर्न लगाएका थिए । तर, सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि यसअघि दर्ता भएको एमाले पार्टी रहेन ।



प्रतिक्रिया दिनुहोस्