Logo

उत्पादन कटौती गर्दै उद्योग



वीरगञ्ज, जेठ १०। बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ ।

कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन घटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘खाद्यान्न र औषधि उद्योगको उत्पादन खासै प्रभावित भएको छैन । तर, निर्माण सामग्री, कपडा, गार्मेन्ट, मदिरालगायत उद्योग बढी प्रभावित भएका छन्,’ अध्यक्ष गुप्ताले आर्थिक अभियानसित भने, ‘यस्ता उद्योगको उत्पादन आधामा झरिसकेको छ ।’ खाद्यान्न र औषध उत्पादकबाहेक अन्य उद्योग अहिले क्षमताको ५० प्रतिशतको हाराहारीमा चलेको गुप्ताको भनाइ छ । गतवर्षको बन्दाबन्दीको तुलनामा यसपटकको निषेधाज्ञामा कच्चा पदार्थ र तयारी उत्पादनको ढुवानी सहज भए पनि बजार बन्द भएकाले माग घट्न थालेको उनले बताए ।

निषेधाज्ञामा निर्माण कार्य अवरुद्ध भएकाले निर्माण सामग्रीको माग घट्दै गएको नारायणी रोलिङ मिल्सका सञ्चालक राजेश क्याल बताउँछन् । ‘माग कम आउन थालेपछि निर्माण सामग्रीका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन्,’ उद्योगी क्यालले बताए ।

यो कोरिडोरमा निर्माण सामग्रीका करीब ३ दर्जन उद्योग छन् । बारा र पर्सामा साना ठूला गरी १ हजार उद्योग सञ्चालनमा रहेको अनुमान उद्यमीहरूको छ ।

निषेधाज्ञा लम्बिएसँगै बजारबाट माग घट्न थालेको छ । उत्पादन गोदाममा थन्क्याएर राख्नुभन्दा उत्पादन घटाउने उपायमा लागेको उद्योगीहरू बताउँछन् । अहिले ७६ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

अहिले मुख्य उत्पादन तथा आपूर्ति केन्द्र र बजारमा निषेधाज्ञा लगाइएको करीब १ महीना पुगिसकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot