Logo

प्रकृति निकट हाम्रा परम्परा



लक्ष्मीदत्त भट्ट : अमेरिकी लेखिका रचेल कार्सनद्वारा सन् १९६२ मा लिखित ‘साइलेन्ट स्प्रिङ’ (मौन वसन्त) लाई विश्व परिवेशमा मानव सिर्जित कारणबाट वातावरणमा पर्न गएको नकारात्मक असर उजागर गर्ने पहिलो प्रभावशाली वैज्ञानिक पुस्तकका रुपमा लिइएको छ । यो पुस्तकलाई सर्वकालीन २५ सर्वश्रेष्ठ वैज्ञानिक प्रकाशनका रुपमा समेत राखिएको छ । लेखिका कार्सनले उक्त पुस्तकमा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट समस्त वातावरण तथा मानव स्वयम्लाई पर्न गएको नकारात्मक असरलाई तथ्यपरक तथा वैज्ञानिक आधारमा पुष्ट्याइँ गर्दै वातावरण संरक्षणमा सामाजिक आन्दोलनको आवश्यकतालाई अगाडि बढाएकी छन् ।

सन् ६० को दशकमा लेखिएको यस पुस्तकको प्रभाव यतिसम्म पर्यो कि, तत्कालीन निक्सन प्रशासनले सन् १९७० मा अमेरिकी वातावरण संरक्षण निकाय नै गठन गरे । सन् १९७२ मा संयुक्त राष्ट्र संघले स्विडेनको स्टकहोममा पहिलो पटक मानव तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्यो । ‘स्टकहोम कन्फेरेन्स’ को नामले जानिने यो महासम्मेलन नै मानवलाई वातावरणप्रति सचेत भई आत्मसात् गर्न प्रेरित गर्ने पहिलो औपचारिक आग्रह हो, भन्न अनुपयुक्त नहोला । यस महासम्मेलनपछि विश्व समुदायको वातावरणप्रति चासो र सरोकार रहँदै आएको छ। सन् १९७३ मा गान्धीवादी सिद्धान्तबाट प्रेरित भारतको ‘चिप्को’ आन्दोलन होस्, या सन् १९७३ मा नेपालले घोषणा गरेको पहिलो (शाही) चितवन राष्ट्रिय निकुञ्ज होस्, त्यसै प्रभावका केही उदाहरणहरु हुन् ।

सन् १९७२ को यात्रालाई निरन्तरता दिंदै संयुक्त राष्ट्रसंघले ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने नारा सहित यस वर्षको विश्व वातावरण दिवसलाई अड्डिकार, आत्मसात् तथा कार्यान्वयन गर्न विश्व समुदायलाई आह्वान गरेको छ। यहि सेरोफेरोमा रही, विशेषगरी पूर्वीय दर्शनमा मानव र प्रकृतिसँगको अन्तरसम्बन्धलाई उजागर गर्न खोजिएको छ।

बेयर्ड कलिकोट तथा जेम्स मेकरेद्वारा सम्पादित पुस्तक ‘एसियाली परम्पराको विचारमा वातावरणीय दर्शन (सन् २०१४)’ मा एसियाली दर्शन, प्रकृति र वातावरण बीचको अन्तरसम्बन्धलाई बडो रोचक रुपमा प्रस्तुत गरिएको छ । हिन्दू र बौद्ध परम्परामा रही आएको अहिंसाको सिद्धान्तलाई जीवजन्तु, रुखबिरुवा तथा समष्टिगत जगतलाई नोक्सानी हुन नदिने नैतिक धरातल प्रदान गरी वातावरणीय नैतिकता देखाउन मानव जातिलाई प्रेरित गरिएको तर्क गरिएको छ । अहिंसावादी गान्धीबाट प्रेरित भई हिमालयको वातावरण संरक्षणका लागि विश्व प्रसिद्ध ‘चिप्को’ आन्दोलन भारतमा भएको तथ्यलाई समेत लेखकले समर्थन गरेका छन् ।

पूर्वीय दर्शनको एक अभिन्न अंग हिन्दू धर्मशास्त्रका विभिन्न पवित्र ग्रन्थहरु (वेद, पुराण, उपनिषद्) मा मानव र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई जोड दिंदै प्रकृति संरक्षणलाई धर्मका रुपमा व्याख्या गरिएको छ । वेदमा प्रकृतिका पाँच मुख्य रुप (आकाश, वायु, तेज, पानी र पृथ्वी) लाई पञ्चमहाभूत भनी व्याख्यागर्दै पृथ्वीलाई जननी संज्ञा दिइएको छ। ‘द्यौर्मे पिता जनिता नाभिरत्र बन्धुर्मे माता पृथिवी महीयम्। (ऋग्वेद १ः१६४।३३)’ । अर्थात्, आकाश पिता हुन्, बन्धु वातावरण मेरो नाभि हो अनि महान् पृथ्वी मेरी आमा हुन् । यसैगरी वनलाई जोगाउन वेदले निर्देशित गरेको पाईन्छ, वनानि नः प्रजहितानि (८ः१ः१३) । पृथिवी मातर्मा हिंसी मा अहं त्वाम् (यजुर्वेद १०ः२३), अर्थात्, पृथ्वीलाई हानी न पुर्याऔं । पद्मपुराणले त पोखरी, कुवा, सिमसार क्षेत्रको पानी प्रदूषित गर्ने व्यक्तिलाई नरकबासीको संज्ञा दिएको छ, ‘सुकूपानां तडागानां प्रपानां च परंतप, सरसां चैव भैत्तारो नरा निरयगामिन (पद्म पुराण ९६ः७ः८)’।

वैदिक परम्परामा जन्मेदेखि मृत्युसम्म मानव प्रकृतिको सम्बन्धलाई महत्त्व दिएको पाइन्छ । चाहे कैलाश पर्वतलाई पवित्र भूमिका रुपमा वर्णन गरिएको होस्, या गंगालाई पवित्र नदीको रुपमा । यसैगरी, विभिन्न रुख, बिरुवा, ढुंगा समेतलाई भगवानको प्रतिमूर्तिको रुपमा विश्वास गरिएको छ । जस्तोः  वर, पीपल, अशोक, चन्दन, बेल, केरा, वैदिक परम्परामा नभई नहुने रुख जातिभित्र पर्छन् भने कुश, दुबो, तुलसी जस्ता बिरुवा प्रत्येक धार्मिक कार्यको लागि अपरिहार्य छन् । शालिग्रामलाई त भगवान विष्णुको रुपमा पुजिन्छ । विशेषगरी, किराँत संस्कार त भूमिलाई नै भगवान्को रुपमा पुज्छन् । चाहे, कुलुङ राईको अल्लोसँगको सामीप्यता होस् या चेपाङको चिउरीसँगको, हाम्रा परम्पराहरु मानव–प्रकृति अन्तरसम्बन्धका द्योतक हुन् ।

करिब २५०० वर्षअघि, भगवान् गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध दर्शन, पूर्वीय सभ्यताको एक महत्वपूर्ण जीवन दर्शन हो । बुद्ध दर्शनलाई मानव भन्दा पनि प्रकृति केन्द्रित दर्शनका रुपमा औंल्याइएको छ । मानवलाई सर्वश्रेष्ठ होइन, सबै प्राणीसँगको एउटा प्राणी जसले अन्य प्राणीको अस्तित्वलाई स्विकार्नु, बुद्ध दर्शनको मूल ध्येय हो । धम्मलाई प्रकृतिको रहस्यका रुपमा व्याख्या गरिएको छ, जीवनमा अधिकत्तम लाभ लिन धम्मलाई गहरिएर बुझ्न सुझाइएको समेत छ । वन तथा मानवको अन्तरसम्बन्धलाई धम्मपद ९९ मा यसरी चित्रण गरिएको छ, सुखद् वनजंगल, जहाँ साधारण व्यक्ति समेत प्रसन्न नरही बस्न सक्दैनन् ।

यसरी परापूर्वकालदेखि नै, धर्म, संस्कृतिमा आधारित हाम्रो जीवन दर्शनले प्रकृतिसँगको सामीप्यतालाई जोड दिए पनि औद्योकीकरण, बढ्दो आधुनिकीकरणका साथै भौतिकवादी चिन्तनले हाम्रो सामीप्यता कमजोर हुँदैछ । हामीले हाम्रा परम्परा, पूर्वीय दर्शन तथा सोचलाई फेरि एकचोटि प्रकृति नजिक पुर्याउनै पर्नेछ । त्यो सोच अनि दर्शनले मात्र प्रकृतिसँगको हाम्रो सामीप्यतालाई जीवन्त राख्न सक्छ । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेजस्तै ‘हेर, अझ गहिरिएर प्रकृतिलाई हेर, तिमीले सबै कुरा बुझ्नेछौ’। नत्र भौतिकवादको उन्मादमा, प्रकृतिसँग हाम्रो सम्बन्ध टाढा मात्र हुने छैन, हाम्रा सन्तति समेत, प्रकृतिबाट प्राप्त सबै खालका सेवा तथा प्राकृतिक जीवन दर्शनबाट बञ्चित हुनेछन् ।

महान् दार्शनिक खलिल जिब्रानले भनेका छन्– ‘नबिर्स, पृथ्वी तिम्रो खाली खुट्टाको आनन्द महसुस गर्न आतुर छे र हावा, तिम्रो लामो कपालसँग खेल्न ।’  जिब्रानको यो सामीप्यता नै हाम्रा लागि प्रेरणा हुनु पर्छ, र प्रेरणासँगै हाम्रो प्रकृतिप्रतिको कर्तव्य पनि । जिम्मेवारी हाम्रो काँधमा छ, हाम्रै लागि र हाम्रा सन्ततिका लागि । हाम्रा परम्परागत ज्ञान अनि अभ्यासहरुलाई दस्तावेजीकरण गरी परम्परागत ज्ञान तथा प्राकृतिक श्रोतमाथि स्थानीयको पहुँच बढाउने, स्थानीय–स्तरमा लाभको सुनिश्चितता, तथा प्रकृति संरक्षणमा योगदान पुर्याउने समुदायलाई प्रोत्साहन तथा सम्मान जस्ता नीतिगत पक्षले हाम्रो प्रकृतिसँगको सामीप्यतालाई केही हदसम्म भए पनि बढाउँछ ।

विशेषगरी, युवा केन्द्रित प्रकृति सामीप्यता कार्यक्रम जस्तैः प्रकृतितर्फ फर्क, भू–परिधि यात्रा, अनुसन्धानमा युवा प्रोत्साहनले युवा पुस्तालाई प्रकृतिसँग सामीप्यता राख्न प्रोत्साहित गर्छ। विद्यालय–स्तरदेखि नै पूर्वीय दर्शन तथा परम्परामा आधारित भई प्रयोगात्मक शिक्षा लाभदायक हुन सक्छ। धम्मपदमा उल्लेख छ, सतर्कता, संयम र बुद्धिमानी नियन्त्रणले एउटा टापु निर्माण हुन्छ, जहाँ कुनै खाले बाढीको सम्भावना रहँदैन। यही सतर्कता, संयम र बुद्धिमानी नियन्त्रण नै मानव प्रकृति सह–अस्तित्वको निकास हो, जसले प्रकृति संरक्षणमा हामीलाई सधैं प्रेरित गरिरहन्छ ।

अन्तमा, रसेल कार्सनले भनेजस्तै जीवनको सम्पूर्णताको लागि बच्चाको जागरुकता र सम्मानले नै उसको आफ्नै किसिमको मानवता र विकास सम्भव छ । त्यसैले अहिलेदेखि नै बच्चा अनि युवालाई प्रकृतिसँगको सामीप्यता बढाउन सके मात्र उसले भोलि प्रकृतिप्रतिको जिम्मेवारी पूरा गर्न सक्छ । हामीले आफै र आफ्ना सन्तानलाई यही बाटोमा डोर्याउँदै प्रकृतिप्रतिको जिम्मेवारी पूरा गर्न सके हाम्रा सोचले सार्थक परिणाम दिन सक्छ ।



प्रतिक्रिया दिनुहोस्