Logo

प्रधानमन्त्री र राष्ट्रपतिबाट गणतन्त्र समाप्त पार्ने षडयन्त्र भएको कांग्रेस नेतृ पवित्रा लामाको आरोप



काठमाडौँ, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ पवित्रा लामाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नै समाप्त पार्ने गरी षडयन्त्र गरेको आरोप लगाएकी छिन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा जनता सुतेको बेला मध्यराति प्रतिनिधिसभा विघटन गर्नु भनेको मिलेमतो भएको पनि टिप्पणी गरेकी छिन् । आज(सोमबार)रिपोर्टर्स क्लब नेपाललाई उनले यस्तो बताएकी हुन् ।

गणतन्त्र र संविधानको रक्षार्थ प्रधानमन्त्री र राष्ट्रपतिका कमदविरुद्ध राजनैतिक र न्यायिक लडाईँ लड्ने तथा सडकसम्म तताउने सक्ने उनले चेतावनीसमेत दिएकी छिन् । संसद् विघटन गर्ने कदमलाई असंवैधानिक र संविधानमाथिको प्रहारको संज्ञा दिँदै यो कदमको आफ्नो पार्टीले डटेर सामना गर्ने पनि उनले स्पष्ट पारेकी छिन् ।

उनले यस सन्दर्भमा भनिन्,‘कोरोना कहरको चपेटामा परेका नेपाली जनताको रक्षामा लाग्नुपर्ने सरकार संविधानको मर्म र भावनाविपरीत अगाडि बढेको देखिन्छ, वर्तमान सरकार आफ्नो सत्ता संघर्षमा छ । ओलीलाई साक्षी राखेर महारानीबाट जनताले लेखेको संविधानको हत्या भएको छ । संविधानको उलंघन वा हत्या गर्ने अधिकार कसैको छैन् ।’नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति समेत जनाएकी छिन् । महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने औल्याईन् ।

उनले भनिन्,‘अहिले नेपालमा कोरोना भयावह अवस्थामा छ । गरिब मानिसहरु रोग भन्दा भोगले मर्नु पर्ने बाध्यता सिर्जना भएको छ । यो राज्यको दायित्व हैन र? कहाँ छ सरकार ? अस्पतालहरुमा अक्सिजन, बेड, तथा चिकित्सकको अभाव छ । सरकार नै दायित्व विहिन भएपश्चात हामीले कोरोनाको दोस्रो लहर सुरुभएलगतै निरन्तर आफ्नो तर्फबाट काठमाडौँको विभिन्न स्थानमा रहेका असहाय व्यक्तिहरुलाई खाना, कपडा तथा औषधीको व्यवस्था गरिरहेका छौँ । हाम्रो संस्था वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र निरन्तर जोखिम मोली असहायहरुको सहारा बन्ने प्रयास गरिरहेको छ।’



प्रतिक्रिया दिनुहोस्