Logo

एमाले विधिवत् रुपमा फुट्दै, हेभिवेटहरु को कता (विवरणसहित)



काठमाडौं, १० जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्यले नेता माधवकुमार नेपालसहित २० भन्दा बढीलाई कारबाही गर्ने भएको छ । आज कारबाहीको निर्णय लिनकै लागि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक नरोके कारबाहीको निर्णय आउने निश्चितप्रायः छ । योसँगै आजबाट एमाले विधिवत् रुपमा दुई टुक्रा हुने सम्भावना छ ।

एमालेको सम्भावित विभाजनसँगै कुन नेता कता लाग्छन् भन्ने चासो बढेको छ । विशेषगरी बामदेव गौतम, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई कता लाग्छन् भन्ने चासो बढेको हो । गौतम नवौं महाधिवेशनमा ओली समूहबाट निर्वाचित उपाध्यक्ष हुन् । तर, उनी अहिले ओलीको पक्षमा छैनन् ।

पाण्डे, बिष्ट र भट्टराई पनि नवौं महाधिवेशनका निर्वाचित पदाधिकारी हुन् । उनीहरु मध्यमार्गी बनेकाले कता लाग्ने हुन् स्पष्ट छैन । योगेश भट्टराईले भने ओलीलाई रोजिसकेका छन् । तर, अन्तिम समयमा पाण्डे नेपाल समूहमा रहने गरी तयारीमा रहेको बुझिएको छ ।

एमालेको विघटित प्रतिनिधि सभाका सदस्यहरुमध्ये नेपाल समूहमा ३० को हाराहारीमा रहने देखिएको छ । बाँकी ओली समूहमा रहने सम्भावना छ ।

नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीमध्ये ७ जना पदाधिकारी ओली पक्षमा छन् । गोकर्ण बिष्ट र योगेश भट्टराई ओली समूहमै फर्किएको गणना गर्दा यस्तो अवस्था देखिएको हो । तर, अन्तिम समयमा गुट परिवर्तन हुन सक्छ ।

यथास्थितिमा ५ जना पदाधिकारी माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली भएको थियो । निर्वाचित उपाध्यक्ष बामदेव गौतम अहिलेसम्म तटस्थ छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटिमा ११ जना ओली पक्षमा छन् भने  १२ जना नेपाल पक्षमा छन् । पदाधिकारी र स्थायी कमिटीमा बराबर जस्तै अवस्थामा रहने देखिन्छ ।

केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१.केपी ओली, अध्यक्ष

२. इश्वर पोखरेल, महासचिव

३. प्रदिप ज्ञवाली, सचिव
४. गोकर्ण विष्ट, सचिव

५. योगेश भट्टराई, सचिव

६. पृथ्वी सुब्बा गुरुङ, सचिव

७. विष्णु पौडेल, उपमहासचिव

स्थायी कमिटी सदस्य

८. शंकर पोखरेल

९. सत्यनारायण यादव

१०. सुवास नेम्वाङ

११. विष्णु रिमाल

माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१. माधवकुमार नेपाल, वरिष्ठ नेता

२. झलनाथ खनाल, वरिष्ठ नेता

३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष

४. भिम रावल, उपाध्यक्ष

५. युवराज ज्ञवाली, उपाध्यक्ष

६. घनश्याम भुषाल, उप महासचिव

७. भिम आचार्य, सचिव

स्थायी कमिटी सदस्य

८. सुरेन्द्र पाण्डे

९. मुकुन्द न्यौपाने

१०. रघुजि पन्त

११. बेदुराम भुषाल

१२. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

उपाध्यक्ष बामदेव गौतम तटस्थ

(एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित पदाधिकारी)



प्रतिक्रिया दिनुहोस्