Logo

विपक्षी गठबन्धन सर्वोच्चमा (फोटोफिचर)



काठमाडौं, १० जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका छन् । गठबन्धनका सांसदहरुले बहुमत सांसदको हस्ताक्षरसहित निवेदन दिंदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै परमादेश माग्न रिट तयार गरी दायर गरिरहेका छन् ।

सांसदहरु आफै सशरीर पुगेर वा वारेशनामामार्फत् रिट निवेदन दर्ताका लागि निवेदन दिइरहेका छन् । अहिलेसम्म रिट दायर गर्न १४६ सांसदको हस्ताक्षर भइसकेको छ ।

देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा २६ जना एमाले सांसदले हस्ताक्षर गरेकामा ३ जनाले हस्ताक्षर गरेनन् । योसहित नेपाल समूहमा विघटित प्रतिनिधि सभाका २३ सांसद मात्र साथमा रहेका छन् ।

नेपाली काँग्रेसबाट ६१, नेकपा माओवादी केन्द्रबाट ४९, नेकपा एमालेका २३, जनता समाजवादी पार्टीबाट १२, र राष्ट्रिय जनमोर्चाका १ गरी १४६ को हस्ताक्षर भई रिट दायर हुने क्रममा छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्न रिट तयार गरिएको हो । जसमा विघटित प्रतिनिधि सभाका १४९ जना सांसद संख्याको हस्ताक्षर पुग्ने अपेक्षा गरिएकोमा १४६ को मात्र पुगेको छ ।

 –तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्