Logo

ओली भर्सेस पाँच पूर्वप्रधानमन्त्री, कस्ले मार्ला बाजी ?



काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला देशका पाँचजना पूर्वप्रधानमन्त्रीसँग सत्तासंघर्षमा छन् । एकपछि अर्को चुनौतीमा बाजी मार्दै बढेका ओलीले यसपटक पाँचजनाको घेराबन्दी तोड्न सक्लान् या नसक्लान् ? चासोको विषय बनेको छ ।

यतिबेला प्रतिनिधि सभा विघटनको अवस्थामा छ । ओली त्यही प्रतिनिधि सभाबाट प्रधानमन्त्री छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको घोषणा गर्ने ओली सरकारको सिफारिशलाई नै सदर गरेकी हुन् । यसकारण पनि ओली विघटित प्रतिनिधि सभाबाट चयन भएका प्रधानमन्त्री हुन् । उनले विघटित प्रतिनिधि सभाको कार्यकालभर देशका पूर्वप्रधानमन्त्रीहरुसँग एकपछि अर्को गर्दै र पछि संयुक्त बनेर आएपछि संघर्ष गरे । जसमा उनी अहिलेसम्म जित्दै आएका छन् ।
ओलीले प्रतिनिधि सभाको पहिलो वर्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग एक्लै संघर्ष गरे । एमालेभित्र झलनाथ खनाल र नेपालको द्वन्द्वले ओलीलाई फाइदा पुग्यो । दुई नेता वरिष्ठ नेतामा वरियतामा को अगाडि भन्नेमा लामो समय विवाद गरिरहे ।

एमाले रहँदै या माओवादीसँग एकीकरणबाट नेकपा बनेपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्यले उनी मजबुत थिए । नेपाल उनीसामु निकै कमजोर देखिए । ओली र प्रचण्डको सहकार्यले विपक्षी दलहरु पनि कमजोर देखिए ।

प्रतिनिधि सभाको कार्यकाल २ वर्ष बित्नै लाग्दा भने ओलीको प्रचण्डसँग चीसोपन बढ्दै गयो । बेला बेलामा सहमति त बन्यो तर टकरावले जटिल अवस्था ल्यायो । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल गरी तीनजना पूर्वप्रधानमन्त्रीसँग ओलीले संघर्ष गरे । तीनजना मिल्दा पनि ओलीलाई पार्टी र सरकारबाट हटाउन सकेनन् । ओली झन् बलियो देखिए । नेकपाभित्र ओलीको विरुद्ध बहुमत बनाउन सकेनन् । बनेजस्तो के भएको थियो नेकपा विधिवत् रुपमा फुट्यो ।

ओलीले आफ्नै दलका तीनजना पूर्वप्रधानमन्त्रीलाई सडकमा समेत विरोध कार्यक्रम गर्न वाध्य पारिदिए । तीनजना पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल ओलीको विरोधमा सडकमा निस्किएको दृश्य देखियो ।

ओलीविरुद्ध त्यतिञ्जेलसम्म पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा कडा रुपमा प्रस्तुत भएनन् । प्रचण्ड र नेपालले प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि देउवा तयार भएनन् । ओलीविरुद्ध जसपाका संघीय परिषद्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई खुलेरै लागिरहेका थिए । उनी पनि ओलीविरुद्धको गठबन्धनमा सशक्त रुपमा उभिए । त्यतिबेला चार पूर्वप्रधानमन्त्री ओलीविरुद्ध भए । तैपनि, ओलीसँग उनीहरुको केही लागेन ।

घटनाक्रम यसरी विकास भयो कि ओलीविरुद्ध शेरबहादुर देउवासहित देशका पाँचजना पूर्वप्रधानमन्त्रीहरु एकजुट भएका छन् । उनीहरु एकजुट भई ओलीको विकल्पमा बहुमतको सरकार गठनका लागि दुईपटक प्रयास गरे । पहिलो प्रयास सफल भएन । दोस्रो प्रयासमा बहुमत संख्या जुटाएपनि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १५३ सांसदको समर्थन दाबी देखाए । देउवासँग प्रत्येक सांसद गरी १४९ को हस्ताक्षर थियो । ओलीसँग नेकपा एमालेका अध्यक्षका रुपमा आफ्नै र जनता समाजवादी पार्टीका अध्यक्षका रुपमा महन्थ ठाकुर र संसदीय दलका नेताका रुपमा राजेन्द्र महतोको हस्ताक्षर थियो ।

ओलीले ठाकुरको साथ लिएर पाँचजना पूर्वप्रधानमन्त्रीको घेराबन्दीलाई रणनीतिक चार्तुयताका साथ तोडे । तर, त्यो घेराबन्दी फेरि नयाँ ढंगले देखापरेको छ । पाँचैजना पूर्वप्रधानमन्त्रीसहित १४६ जना विघटित प्रतिनिधि सभाका सांसदहरु सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवाको प्रधानमन्त्री नियुक्तिको परमादेश जारीका लागि रिट लिएर आज सर्वोच्च अदालत पुगेका छन् ।

अहिले देशमा प्रधानमन्त्री ओली भर्सेस पाँच पूर्वप्रधानमन्त्री देखिएको छ । सत्तासंघर्षका दौरान विकसित घटनाक्रम रोचक बन्दै गएको छ । एक, दुई, तीन, चार हुँदै पाँचजना पूर्वप्रधानमन्त्रीहरुसँग राजनीतिक संघर्ष गर्ने अवस्था आएपछि ओलीले कसरी सामना गर्छन् ? उनको जीत या हार के हुन्छ ? चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्