Logo

१४ वर्षपछि साधारणसभा गर्दै उदयपुर सिमेन्ट उद्योग



काठमाडौं, जेठ ११ । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले विगत १४ वर्षदेखि हुन नसकेको साधारणसभा यही जेठ ३० गते गर्ने तयारी गरेको छ । ग्राहकहरूको उच्च रोजाइमा रहेर पनि उचित लाभ लिन नसकेको यो उद्योगले २०६३/६४ देखि साधारणसभा नै गर्न सकेको थिएन ।

सरकारका विभिन्न निकायको लगानी रहेको उक्त उद्योगमा १४ आर्थिक वर्षको साधारणसभा नै हुन नसकेको अवस्थामा अहिले ३३औं साधारणसभाको तयारी गरिएको हो । गत पुसमा उद्योगको महाप्रबन्धकमा सरकारले गोपीकृष्ण न्यौपानेलाई नियुक्त गरेको थियो । ४ महीनाको अवधिमा सबै अध्ययन तथा तयारी गरी सञ्चालक समितिको निर्णयअनुसार साधारणसभाको मिति घोषणा गरिएको उनले बताए ।

२०६३/६४ देखि २०७६/७७ सम्मको साधारणसभा कम्पनीले एकैपटक गर्न लागेको हो । कम्पनीको वार्षिक अडिट र साधारणसभा नै नहुँदा सुशासन र पारदर्शितामा पनि कम्पनी चुकेको देखिन्छ ।

उद्योगको सञ्चालक समितिको अध्यक्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवस्तरका अधिकारी अध्यक्ष हुने प्रावधान छ । उदयपुर सिमेन्टमा मन्त्रालयसहित, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, कोष तथा लेखा नियन्त्रण कार्यालय र तत्कालीन वाणिज्य विभागको संयुक्त लगानी छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्