Logo

निषेधाज्ञामा साना व्यवसाय बन्द, ठूला खुला



कैलाली, जेठ ११ । अहिले धनगढी बजार पूर्णरूपमा बन्द छ। मुख्य बजारबाहेक गाउँ टोलका साना छाप्रा तथा खोकामा दैनिक उपभोग्य सामान राखेर बेच्नेहरूलाई प्रहरीले देख्ने वित्तिकै लठ्ठी लगाउँछ। तर धनगढीकै मुख्य बजार क्षेत्रमै रहेको चौलानी डिपार्टमेन्टल स्टोर भने दिनभर खुल्लै रहन्छ।

नजिकै एलएनचौकमा २४ घन्टा नै प्रहरीको ड्युटी हुन्छ। एलएनचौक दायाँबायाँमा रहेका शाखा सडक किनारमा खोलिएका साना पसललाई प्रहरीले बन्द गराउँदै आए पनि सोही ठाउँमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरमा भने प्रहरीले आँखा चिम्लने गरेको छ।

‘खोकाको दैलो बन्द गरेरै साबुन स्याम्पु बेच्ने हामीलाई प्रहरीले दुःख दिन्छ,’ एलएनचौकका एक व्यापारीले भने, ‘तर यहीँ नजिकैको चौलानी डिपार्टमेन्टल स्टोरलाई भने प्रहरीले केही गर्दैन।’ चौलानी भने दिनभर खुल्ने गरेको बताउँदै उनले भने, ‘कानुन सबैको लागि बराबर हो, तर यहाँ सानालाई ऐन र ठूलालाई चैन भएको छ।’ अघिल्लो वर्ष चैत ११ गतेदेखि भएको लकडाउनमा पनि चौलानी डिपार्टमेन्टल स्टोर खुल्लै रहेको बताउँदै उनले भने,‘चौलानीमा कफी, चिया पिउन तथा मदिराजन्य सामग्री खरिद गर्नका लागि अहिले पनि प्रहरी अधिकृतदेखि लिएर सरकारी कार्यालयका कर्मचारीसम्म जाने गरेका छन्।’

चौलानी डिपार्टमेन्टल स्टोरलाई दिनभर खुला गर्न प्रहरी प्रशासनले पनि सघाउने गरेको उनले बताए। ‘प्रहरीका हाकिमदेखि सरकारी कार्यालयका कर्मचारी त्यही बस्छन्,’ उनले भने,‘उनीहरूकै संरक्षणमा चौलानी खुल्लै हुन्छ, तर साना पसललाई भने देखी सहँदैनन्।’ केही साना खोका छाप्राले दैनिक उपभोग्य सामान भित्रीबाटोबाट बेच्न खोज्दा प्रहरीले दुःख दिने गरे पनि ठूला डिपारमेन्टल स्टोरलाई भने संरक्षण दिँदै आएको नाम नबताउने शर्तमा अर्का एक खुद्रा व्यवसायीले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्