Logo

सीसीएमसीको प्रमुखमा सेनाका पूर्वरथी शर्मा नियुक्त



काठमाडौं, ११ जेठ । कोरोनाभइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।

स्रोतका अनुसार शर्मालाई सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो । उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ ।

पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए ।

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।

निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य रहेका छन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्