Logo

कोरोना कहर : नाउर गणना प्रभावित



फुङ्लिङ, ११ जेठ: ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा कोभिड—१९को कारणले नाउर गणना प्रभावित भएको छ । ओलाङ्चुङगोला र याङ्मा क्षेत्रमा प्रवेश पूर्ण रोक्का गरेसँगै नाउर गणना कार्यक्रम प्रभावित हुन पुगेको हो ।

कञ्चनजङ्घा क्षेत्रको कार्यालयदेखि नाउर गणनाको लागि प्रविधिक टोली अहिले लेलेपमा पुगेर अलमलमा परेको कार्यालयका प्रमुम संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । उनले भने, “ओलाङ्चुङ्गोला र याङमा क्षेत्रमा कोभिडको कारणले प्रवेश गर्न पूर्णरुपमा रोक्का गरेको छ ।” कोभिड—१९ सङ्क्रमण फैलिनबाट रोक्न ओलाङ्चुगोला र याङ्ममा क्षेत्रमा प्रवेश रोक्का गरिएको छ । नाउर निरीक्षण गर्न लागि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई विश्व वन्य जन्तुको कोष (डब्लुडब्लुएफ)ले रु १० लाख उपलब्ध गराएको तिवारीले बताउनुभयो ।

गत महिना डब्लुडब्लुएफ र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्बीच नाउर निरीक्षण र हिउँचितुवा संरक्षण गर्नका लागि रु ४० लाखको कार्यक्रम सम्झौता भएको छ । असार मसान्तसम्ममा कार्यक्रम सम्पन्न गर्नु पर्नेमा कोभिडको कारणले अहिले कार्यक्रम शुरुवात भएको छैन ।

विश्वमा दुर्लभ हुँदै गाएको वन्यजन्तु हिउँचितुवाको संरणक्षण गर्ने क्रममा नाउरको निरीक्षण गर्न लागिएको तिवारीले बताए । नाउर हिउँचितुवाको प्रमुख आहारा हो । विसं २०७३ मा दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए । पाँच वर्षयता नाउरको निरीक्षण भएपनि परिमाण आउन नसकेको फेम्बुले बताए ।

हिउँचितुवाको सङ्ख्या बढ्यो

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँचितुवा रहेको अनुमान गरिएकामा अहिले यो सङ्ख्या बढेर कम्तिमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग र विश्व वन्यजन्तु कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्रका ओलाङ्चुङ्गोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँचितुवाको सङ्ख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ ।

पछिल्लो समयमा लेलेप–९ राम्देन शिरमा नाउरको शिकार गर्दै गरेको हिउँचितुवाको तस्वीर क्यामरामा कैद भएको थियो । याम्फुदिन राम्जेल ब्लक, घुन्सा क्षेत्रको घुन्सा भ्याली, याङमा भ्याली र गोला भ्यालीमा हिउँ चितुवा पाइने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताए । हिउँचितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा १९ देखि २९ वटासम्म हिउँचितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्