Logo

कोरोना महामारीबीच रोपाइँ शुरु, सजगता अपनाउन आग्रह



बागलुङ, ११ जेठ: कोरोना महामारीबीच रोपाइँको याम शुरु भएको छ । जिल्लाको गलकोट भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि किसानलाई खेतीपाती नगरी सुख छैन । महामारीकै बेला वर्षे बाली लगाउने समय शुरु भएपछि गलकोट नगरपालिकाले किसानलाई विशेष सजगता अपनाएर खेतबारीमा काम गर्न आग्रह गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले रोपाइँलगायत खेतीपातीका काममा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना आग्रह गरेको छ ।

खेतमा काम गर्दा अनिवार्यरूपमा भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपातीको काम गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताए । रोपाइँमा धेरै किसानको जमघट र आउजाउ हुँदा कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले सजगता अपनाउन भनिएको हो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्