Logo

इतिहास : बेलायतबाट फर्केर जंगबहादुरले खोलेका थिए पहिलो रेजिडेन्सियल अस्पताल



नेपालमा सरकारी स्वास्थ्य संस्था खोल्ने श्रेय प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणालाई जान्छ । जङ्गबहादुरले सन् १८५० मा बेलायत भ्रमणमा जाँदा रोयल कलेज अफ सर्जन्समा गएर चिरफारका उपकरणहरु ल्याएका थिए । जङ्गबहादुरकै पालामा लैनचौरमा रेजिडेन्सियल अस्पताल खोलियो । सम्भवतः त्यो नै नेपालको पहिलो अस्पताल हो ।

सुगौली सन्धिपछि ब्रिटिसहरु नेपाल आउने क्रम सुरु भयो । बेलायती दूतावासमा चाहिँ नन–रेजिडेन्सियल अस्पताल खुलेको थियो । ब्रिटिस डाक्टरहरुले दरबारका मानिसलाई हेर्थे । तर, जङ्गबहादुर ब्रिटिस चिकित्सकलाई भन्थे रे– ‘तिमीहरुको सेवा राम्रो भए पनि म आयुर्वेदिक माध्यमबाट नै उपचार गर्छु ।’  उनी आफैंले पनि औषधि बनाउने गरेको सुनिन्छ । ब्रिटिसहरुबाट जङ्गबहादुरले तक्मा पनि पाएछन् ।

सत्तारोहणसँगै वीरशमशेरले आफूलाई पनि जङ्गबहादुरको जस्तै तक्मा चाहिने कुरा गरेछन् । ब्रिटिसहरुले जवाफ दिएछन्, ‘हामी त्यसै तक्मा दिदैनौं, तक्मा पाउन जनस्वास्थ्यका लागि केही काम गर्नुपर्छ ।’ त्यही कारण उनले काठमाडौंमा वीर अस्पताल र वीरगन्जमा अस्पताल खोले । सँगै, खोकनाको कुष्ठरोग केन्द्रलाई विस्तार गरे । त्यसपछि वीरशमशेरले पनि तक्मा पाएको रोचक इतिहास छ ।

त्यतिबेला सार्वजनिक संस्थाको नाम तत्कालीन राजा र श्री ३ को नाममा राख्ने चलन थियो । वीर अस्पतालको नाम पनि सुरुमा ‘वीर-पृथ्वी’ थियो । पछि पृथ्वी (राजा त्रिभुवनका पिता) भन्न छाडेर वीर मात्रै भन्न थालियो । राणाहरुले वीर अस्पतालको नाममा गुठी पनि राखिदिएका थिए ।

यस्तै, राणा प्रधानमन्त्री चन्द्रशमशेर आफैं दमका बिरामी थिए भने उनकी एक रानी क्षयरोगकी बिरामी थिइन् । चन्द्रशमशेरले उनै रानीको नाममा लोककुमारी अस्पताल खोलेका थिए । सन् १९२१ मा त्यो अस्पतालमा मेरा बुबा सिद्धिमणिले पनि काम गरेको इतिहास छ । चन्द्रशमशेरले क्षयरोगीलाई अलग्गै राख्न टोखामा अस्पताल राख्ने अवधारणा ल्याएका थिए । तर, चन्द्रले काम पूरा गर्न नपाएपछि जुद्धशमशेरले सम्हाले ।

चन्द्रशमशेरको पालामा पनि मिलिटरी लगायतका धेरै अस्पताल खुले । ती अस्पताल उद्घाटनमा ब्रिटिसहरु पनि आएका थिए रे । अस्पताल खुलेको खुसीयालीमा तीन दिनसम्म जुवा फुकेको थियो । जुद्धशमशेरले धरहरा अस्पताल खोलेका थिए । भीमशमशेरले तराईतिर अस्पताल खोले। मोहनशमशेरको पालामा पशुपतिमा रामघाट अस्पताल खुल्यो । बागबजारमा युनानी अस्पताल पनि थियो । अहिले युनानी अस्पताल पुल्चोकमा छ । आयुर्वेदिक अस्पताल पनि खुल्यो ।

मेरा बुबा पद्मशमशेरका निजी फिजिसियन थिए । बुबाकै कारण डा रघुवर वैद्य, डा दिनेशसिंह वैद्य, डा यज्ञराज जोशीलाई सरकारले पढ्न विदेश पठाएको थियो । उनीहरु फर्केर आएपछि वीर अस्पतालको विकास हुन थाल्यो । त्यतिबेला हरेक वर्ष चार जना सरकारी खर्चमा पढ्न भारत जान्थे ।

‘कोलम्बो प्लान’ आएपछि भारतीय सरकारले बर्सेनि आठ वटा सिटमा छात्रवृत्ति दिन थाल्यो । आइओएमले एमबिबिएस सुरु गरेपछि भारतबाट एमबिबिएस छात्रवृत्ति रोक्का भयो । त्यसको सट्टा विशेष तालिम दिन पैसा दिने कुरा भयो । शिक्षण अस्पताल खुलेपछि सुरुवाततिरका सर्जनहरु जापान गए । करिब पाँच जनाका लागि जापानले पनि छात्रवृत्ति दिएको थियो ।

चिकित्सा इतिहास हेर्दा रत्नराज वैद्यले सन् १९०२ मा भारतको कलकत्तामा गएर बङ्गाली भाषामा एलएमएफ कोर्स गरेको पाइन्छ । त्यसपछि देवीप्रसाद उपाध्याय र  गणेशलाल मास्केले सन् १९१८ मा त्यही कोर्स गरे। सन् १९२१ मा मेरा बुबा सिद्धिमणि दीक्षितले त्यही कोर्स गरेका हुन् । तर त्यो बेला एमबिबिएस थिएन ।

त्यसपछि थुप्रै नेपाली डाक्टरले एलएमएफ र एलएमएपी गरे । नगेन्द्रध्वज जोशी, तुल्सी गिरि, जोगेन्द्र झाले पनि त्यही कोर्स गरेका हुन् । भारत स्वतन्त्र भएपछि यो कोर्स चाहिँदैन भनेर सबैलाई अपग्रेड गरी एमबिबिएस डिग्री दिए ।

सन् १९६३ तिर डब्लुएचओले मेडिकल शिक्षा चाहिन्छ भन्यो । महाराष्ट्रका सर्जन मिस्टर भण्डारकर आएर नेपालको स्वास्थ्य क्षेत्रलाई भारतले सहयोग गर्ने बताएपछि यहाँबाट भारतका ८–१० वटा मेडिकल कलेजमा अध्ययन भ्रमण भयो र दुई जना डाक्टरलाई पढ्न पठाइयो ।  त्यही समय हेल्थ असिस्टेन्ट तालिम गर्ने सोच आयो । त्यो बेलासम्म स्वास्थ्य मन्त्रालयले डाक्टर, नर्स, अनमी, अहेव सबैको तालिम दिन्थ्यो ।

सन् १९७२ तिर नयाँ शिक्षा लागू भएपछि त्रिभुवन विश्वविद्यालयको १० वटा फ्याकल्टीमध्ये एक चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) स्थापना भयो । आइओएमले १९७८ मा पहिलो कोर्स सञ्चालन गर्‍यो । पहिलो ब्याचमा २२ जना थिए। र, आइओएमको ९ नम्बर कोठामा डा मोइन शाहले पहिलो लेक्चर दिएका थियो । डा शाहपछि आइओएममा म आएको हुँ ।

त्यसबेला आइओएममा विदेशी सहयोगको कुरा आयो । रुसले पनि सहयोगको अफर गरेको थियो र जापानले पनि । राजा वीरेन्द्र जापान गएका बेला एउटा अस्पताल जापानले उपहारस्वरुप दिने कुरा भयो। रुसले पनि बेसिक साइन्स भवन बनाउने कुरा आयो । पछि जापानले अस्पताल पनि बनाइदिने भन्यो ।

म आइओएमको डिन रहेकै बेला निजी क्षेत्रमा मेडिकल कलेज नखोल्ने निर्णय भएको थियो। पछि सरकारले भारतीय सरकारको सहयोगमा धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने निर्णय गर्यो। तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले आफ्नो सहयोगको अस्पतालमा भारतीयहरु पनि आउने बताएका थिए ।

सन् १९९४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा पोखराको मणिपाल मेडिकल कलेजलाई स्वीकृति दिइयो । काठमाडौं विश्वविद्यालयले पनि मेडिकल कलेजलाई स्वीकृति दियो। अहिले आएर त्रिविअन्तर्गत ७ वटा र केयूअन्तर्गत ९ वटा मेडिकल कलेज छन्। त्यसपछि न्याम्स आयो। हरेक कलेजले पोस्ट ग्य्राजुएट कोर्स सुरु गरेका छन् ।

आइओएमका तत्कालीन डिन मोइन शाहको पालमा नेपालमा कस्ता रोग छन् भनेर धनकुटा, बारा, तनहुँ गरेर चार ठाउँमा अध्ययन गरियो। त्यसको नतिजाका आधारमा चिकित्सा पाठ्यक्रम बन्यो। त्यसमा तीन महिना व्यवस्थापनको विषय पनि समावेश थियो । किनभने, डाक्टरले जिल्लामा गएर अस्पताल व्यवस्थापन गर्नुपर्छ।

पुरानो इतिहास पल्टाउँदा सातौं शताब्दीतिर ग्रिकमा ‘टेम्पल अफ हिलिङ’ रहेछन् । त्यही ताका नेपालमा पनि चिकित्सालयका रुपमा आरोग्यशाला र विद्यालयका रुपमा माध्वयवशाला रहेको प्रमाण फेला परेका छन् । आरोग्यशालामा स्वास्थ्य कार्यकर्ता हुनु स्वाभाविकै हो । आरोग्यशाला अर्थात् सार्वजनिक प्रकृतिको औषधालयका लागि गुठीहरू पनि राखिएका रहेछन् । त्यसमा सबभन्दा धेरै नै बजेट छुट्ट्याएको इतिहास छ । लिच्छविकालीन राजा अंशुवर्माको समयमा गरिने त्यो चिकित्सा अभ्यास परम्परागत थियो ।

तिनताका इटालीबाट इसाई पादरीहरु नेपालमा आएर चीनतिर पस्थे । त्यतिबेला चीनमा इसाईहरुकै दबदबा थियो। उनीहरु जाडो महिनामा तराई पार गर्थे र भक्तपुर आएर बस्थे । एक–दुई महिना बसेर गर्मी लागेपछि फेरि पहाड चढेर हिउँ पग्लेपछि तिब्बततिर लाग्थे । भक्तपुरमा रहेकै बेला क्रिस्चियन मिसनरीहरुले पश्चिमा उपचार थालेका हुन् ।

इतिहास अनुसार विसं १८२१ पुस ३० गते कीर्तिपुरको दोस्रो लडाइँमा पृथ्वीनारायण शाहका भाइ सुरप्रतापको आँखा फुटेको थियो । घाइते सुरप्रतापको पनि उनीहरुले नै उपचार गरेका थिए । तर उपत्यका विजय गरेपछि पृथ्वीनारायणले पादरीलाई धपाइदिए । उनीहरु मकवानपुर, बेतिया हुँदै रक्सौल गए र रक्सौलमा डङ्कन अस्पताल खोले । पछि त्यो नेपालीहरु उपचार गर्न जाने थलो बन्यो । यसरी त्यस क्षेत्रमा पश्चिमा चिकित्सा थालनी भयो ।



प्रतिक्रिया दिनुहोस्