Logo

प्रधानमन्त्री र प्रधानन्यायाधीशको भेट भएको छैन: सर्वोच्च अदालत



काठमाडौं ११ जेठ: सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटवार्ता नभएको प्रष्ट पारेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले यस्तो बताएका हुन् ।

केही सञ्चार माध्यमले प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणबीच भेटवार्ता भएको समाचार प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै सहप्रवक्ता ढकालले विज्ञप्तिमार्फत प्रष्ट पारेका हुन् ।

सर्वोच्च अदालतले समाचारमा सत्यता नभएको र यसले न्यायपालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने भन्दै खेद व्यक्त गरेको छ ।
अदालतमा दर्ता हुन आएका विवादसँग जोडेर न्यायसम्पादन कार्यलाई प्रतिकुल प्रभाव पार्ने गलत मनसाय राखेर समाचार प्रकाशत गर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वोच्चले यस प्रकारका कार्य संविधान कानुन र पत्रकार आचारसंहिताको प्रतिकूल हुने भन्दै सचेत गराउँदै भ्रमपूर्ण कपोकल्पित समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ ।

‘न्यायपालिकाको स्वच्छता एवम् यस प्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो । अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका कार्यहरु संविधान, कानुन र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकुल हुने हुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौँ । साथै यस्ता भ्रमपूर्ण कपोकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्