Logo

यसपालिको बुद्धजयन्ती दीप प्रज्वलनमा सीमित



काठमाडौं, जेठ १२ । २५६५ औं बुद्धजयन्ती कोरोनाका कारण सामान्यरूपमा मनाइने भएको छ । सधैं भव्य समारोहका बीच हुने गरिएकोमा यो वर्ष भने सामान्यरूपमा मनाइने भएको हो । कोरोना महामारीका कारण दीप प्रज्वलन, परित्राण पाठ गरेर सामान्यरूपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

गतबर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ती पूजापाठमा सीमित भएको थियो । विगतमा राष्ट्रप्रमुख,विदेशी कुटनीतिज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना संक्रमणको कारण यस बर्ष औपचारिक कार्यक्रम नहुने भएको हो ।

बन्दाबन्दीको कारण गत बर्ष पनि पूजापाठ र सामान्य कार्यक्रम गरेर मनाउन लागिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए ।उनका अनुसार बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश वाचन गरिनेछ । त्यसपछि, पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यको भनाइ छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाणाप्राप्ति होस् भनेर २५६५ वटा दीप प्रज्वलन गरिने लुम्बिनी विकास कोषले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot