Logo

७ वर्ष अघि एमालेका नेताहरुको शक्ति यस्तो थियो (विवरणसहित)



काठमाडौं, १२ जेठ । नेकपा एमाले वैधानिक रुपमा अहिले पनि एक छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीबाट निष्काशित भएका छन् । योसँगै एमाले विभाजित भएको छ । यसको औपचारिक घोषणा हुनमात्र बाँकी छ ।

एमालको नवौं महाधिवेशन २०७१ साल असार १९ देखि २५ सम्म काठमाडौंमा भएको थियो । त्यसलाई आधार मान्दा एमालेका अध्यक्ष केपी शर्मा ओली र निष्काशित नेता माधवकुमार नेपालको शक्ति बराबर जस्तै थियो ।

अध्यक्षको प्रतिष्पर्धामा ओलीले नेपाललाई ५६ मतले पराजित गरेका थिए । नेपाल पराजित हुनुमा झलनाथ खनाल पक्षधरको अन्तिम अवस्थामा ओलीलाई समर्थन हुनु मुख्य कारण थियो । बामदेव गौतमले खुलेरै ओलीलाई साथ दिएका थिए । रोचक पक्ष यो छ कि अहिले खनाललाई ओलीले पार्टीबाट निष्काशनको निर्णय गराएका छन् । गौतम ओलीबाट टाढा छन् ।

७ वर्ष अघि भएको महाधिवेशनमा उपाध्यक्षमा भीम रावलले सर्वाधिक मत पाएका थिए । उनको मत वामदेव गौतम र विद्यादेवी भण्डारीको भन्दा पनि बढी हो । रावललाई पनि ओलीले पार्टीबाट निष्काशनको निर्णय गराएका छन् । भण्डारी राष्ट्रपति छिन् । उनीमाथि ओलीको अनुकूल निर्णयहरु लिएको आरोप लाग्दै आएको छ ।

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्षमा निर्वाचित भएका थिए । दुवै नेपाल समूहमा छन् । उनीहरु ओलीको प्रखर विरोधी देखिएका छन् । उपाध्यक्षको ५ पदमध्ये नेपाल पक्षका ३ जना विजयी भएका थिए । २ जना ओली पक्षका थिए । नवौं महाधिवेशनमा निर्वाचित अध्यक्षमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीबाहेक कोही पनि ओलीको पक्षमा रहेनन् ।

महासचिवमा ओली पक्षका ईश्वर पोखरेल सुरेन्द्र पाण्डेलाई १५ मतले पराजित गर्न सफल भएका थिए । पोखरेल अहिले पनि ओली पक्षमै छन् । पाण्डे भने नेपाल पक्षमा छन् । उनीमाथि कारबाहीको प्रक्रिया बढिसकेको छ ।

उपमहासचिवको २ पदमध्ये विष्णु पौडेल ओली पक्षमा छन् । घनश्याम भुसाल नेपाल पक्षमा छन् ।

त्यतिबेला निर्वाचित ६ जना सचिवमध्ये भीम आचार्य मात्र नेपाल समूहमा छन् । गोकर्ण बिष्ट र योगेश भट्टराई ओली समूहमा पुगेका छन् । दुवैजना नेपाल समूहबाट उम्मेदवार बनेका थिए । प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ्ग ओली समूहमै छन् । उनीहरु महाधिवेशनमा ओली समूहबाट उम्मेदवार बनेका थिए ।

केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत माधवकुमार नेपालले ल्याएका थिए । उनलाई १११३ मत परेको थियो । जुन मत उनलाई अध्यक्ष पदमा प्राप्तभन्दा एक सयले बढी थियो । महासचिवमा पराजित सुरेन्द्र पाण्डेले १०९६ मत प्राप्त गरेका थिए । त्यसपछि रविन्द्र अधिकारीको मत सबैभन्दा बढी १०८६ थियो । उनी दिवंगत भइसकेका छन् । लालबाबु पण्डित, ठाकुर गैरे जस्ता नेताले लोकप्रीय मत पाएका थिए ।

प्रकाश ज्वालाले केन्द्रीय सदस्यका उम्मेदवारमध्ये सर्वाधिक मत पाउनेमा ७औं स्थान बनाएका थिए । उनले कर्णाली प्रदेशमा एमालेको ह्वीप उल्लंघन गरी विद्रोह गरे । जसका कारण पार्टीबाटै निष्काशित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्