Logo

एमालेमा को कति शक्तिशाली (तथ्यसहित)



काठमाडौं, १२ जेठ । नेकपा एमालेमा औपचारिक रुपमा विभाजन हुनमात्र बाँकी छ । शक्तिसंघर्ष उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई निष्काशनको अभियान नै चलाएका छन् । तर, निष्काशित भएकाहरुले पनि पार्टीभित्र शक्तिप्रदर्शन गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली देशमै शक्तिशाली छन् । ३ वर्ष ४ महिना देशको प्रधानमन्त्री भइसकेका ओलीलाई सत्ताबाट विपक्षीहरु एकजुट हुँदा पनि हटाउन सकेनन् । कतिपयले ओलीलाई जङ्गबहादुर राणापछिको शक्तिशाली प्रधानमन्त्री भन्न थालेका छन् ।

एमालेभित्र ओलीको अहिले एकछत्र पकड छ । महासचिव इश्वर पोखरेलका अलावा स्थायी कमिटीको पूरै टिम उनको साथमा छ । स्थायी कमिटी सदस्य मनोनित बामदेव गौतमले उक्त पद अस्वीकार गरिसकेका छन् । विघटित प्रतिनिधि सभाका १२१ सांसदमध्ये ओलीको पक्षमा ९८ जना छन् ।

नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीलाई आधार मान्दा भने ओलीसँग निर्वाचित पदाधिकारीमध्ये ६ जना मात्र साथमा छन् । निर्वाचित उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति भइसकेकी छिन् । बामदेव गौतमले ओलीको साथ छाडेका छन् ।

प्रदेशहरुमा ओली पक्षका शेरधन राई, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरुङ्ग र शंकर पोखरेल मुख्यमन्त्री छन् । केन्द्र देखि प्रदेशसम्म ओली पक्षकै मन्त्रीहरु छन् । सुदूरपश्चिम प्रदेशमा मात्र ओली अल्पमतमा छन् । त्यहाँ एमालेबाट मन्त्री बनेका भीम रावलसँग निकट छन् ।

माधव नेपाल एमालेबाट निष्काशित भएका छन् । तर, उनको पकड एमालेमा अझै छ । नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारीमध्ये ५ जना नेपालको पक्षमा अझै छन् । २३ जना विघटित प्रतिनिधि सभाका सांसदले नेपालका लागि राजनीतिक जीवनलाई नै दाउमा राख्न तयार भए ।

लामो समय एमालेको महासचिव बनेर एकपटक प्रधानमन्त्री समेत बनेका नेपाल ओलीका चुनौती बनेका छन् । उनले कर्णालीमा ओलीको योजनालाई विफल पार्न विद्रोह गराएका थिए । सुदूरपश्चिम प्रदेशमा पनि ओलीको निर्देशनको अवज्ञा भइसकेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा बादललाई खिमलाल देवकोटाले पराजित गर्नु नेपालको शक्तिप्रदर्शन पनि थियो । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे जस्ता हस्ती नेताहरु नेपालको पक्षमा छन् । देवकोटालाई जिताउन उनीहरुले भूमिका खेलेको विषय बाहिर आएको छ ।

एमालेमा बामदेव गौतम अर्को शक्ति हुन् । उनले स्थायी कमिटी सदस्य मनोनयन अस्वीकार गरेका छन् । उपप्रधानमन्त्री भइसकेका गौतम पार्टी एकताको पक्षमा उभिदै आएका छन् । उनले एकता अभियान अझै जारी राखेका छन् । ओलीलाई नवौं महाधिवेशनमा अध्यक्ष पदमा जिताउन उनैले भूमिका खेलेका थिए । उपाध्यक्ष पदमा निर्वाचित हुँदा सर्वाधिक दोस्रो नम्बरको मत ल्याएका थिए ।

गौतमसँग एमालेभित्र केही सांसद, प्रदेश सभा सांसदका अलावा केन्द्रीय कमिटी र जिल्ला कमिटीमा रहेकाहरु साथमा छन् । उनीहरुले निर्णायक घडीमा गौतमलाई साथ दिन सक्छन् ।

झलनाथ खनाल एमालेका पूर्वअध्यक्ष हुन् । प्रधानमन्त्री समेत भइसकेका खनाल गुट बनाउनेभन्दा पार्टी सिद्धान्त र विधिसम्मत तरिकाले चलाउनुपर्छ भन्ने पक्षमा रहे । त्यसैले उनका लागि कमैमात्र नेताहरु खुल्ने गर्छन् । सुरेन्द्र पाण्डे, भीम आचार्य जस्ता नेताहरु खनालको पक्षमा छन् । ओलीलाई नवौं महाधिवेशनमा जिताउन खनालले अन्तिम समयमा भूमिका खेलेका थिए ।

ओलीले पार्टीबाट खनाललाई समेत निष्काशित गरेका छन् । तैपनि, उनको पकड कायमै छ ।

भीम रावल हालै एमालेबाट निष्काशित गरिएका छन् । उनी माधव नेपालभन्दा पनि कडा रुपमा ओलीविरुद्ध उत्रिए । खरो स्वभावका रावलको एमालेभित्र अझै पकड छ । विघटित प्रतिनिधि सभामा उनी पक्षीय सांसद पनि छन् । सुदूरपश्चिममा उनको बलियो पकड छ । त्यसैले एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारबाट फिर्ता हुने निर्णयलाई प्रदेश संसदीय दलको बैठकले अस्वीकार गरेको छ । यसमा रावलकै मुख्य भूमिका देखिन्छ ।

रावलले आफ्नो शक्ति नवौं महाधिवेशनमा प्रदर्शन गरिसकेका छन् । महाधिवेशनमा उपाध्यक्षका उम्मदेवारमध्ये रावलले सर्वाधिक मत पाएका थिए । उनले बामदेव गोतम र विद्यादेवी भण्डारीभन्दा पनि बढी मत हासिल गरेर आफूलाई भविष्य बोकेको नेताका रुपमा उभ्याएका थिए । आफ्नो शक्तिलाई उनले अझै पनि कायम राख्न सकेको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ ।

एमाले महासचिव इश्वर पोखरेलको संगठनमा बलियो पकड छ । उपप्रधानमन्त्री समेत रहेका पोखरेल पनि खरो स्वभावका छन् । उनले ओलीलाई बलियो साथ दिदै आएका छन् । ओली समूहबाट एमालेको भावी नेतृत्वको दाबेदारमा उनी नै देखिएका छन् । नवौं महाधिवेशनमा निर्वाचित महासचिव भएकाले पनि उनी बलियो देखिएका हुन् ।

सुरेन्द्र पाण्डे नवौं महाधिवेशनमा महासचिवमा १५ मतले इश्वर पोखरेलसँग पराजित भएका थिए । अर्थमन्त्री भइसकेका पाण्डे नेपाल समूहमा छन् । उनलाई पनि एमालेमा कारबाही गर्ने तयारी भएको छ । एमालेभित्र भविष्य बोकेका नेताका रुपमा उनलाई चिनिन्छ । भित्र भित्र पकड जमाएर बस्ने उनको कार्यशैली छ । तर, पछिल्लो समय नेपालको पक्षमा उनले खुट्टा कमाएको विश्लेषण गर्न थालिएको छ ।

सुवासचन्द्र नेम्वाङ पूर्वसभामुख हुन् । ओलीका विश्वासपात्रमध्येका नेम्वाङ सहमति र सहकार्य गराउन सिपालु छन् । उनले एमाले मिलाउन निकै प्रयासहरु गर्दै आए । शालिन ढंगले प्रस्तुत हुने उनले एमालेमा राम्रो पकड बनाएका छन् । कानुन व्यवसायी हुँदै राजनीतिमा प्रवेश गरेका उनलाई ओली समूहबाट भावी अध्यक्षको रुपमा समेत हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्