Logo

योगगुरु रामदेवसँग १० अर्ब भारु क्षतिपूर्ति माग



एजेन्सी, १२ जेठ । भारतका योगगुरु रामदेव यतिबेला विवादमा छन् । उनले कोरोना भाइरसलाई जोडेर एलोपेथी र एलोपेथी डाक्टरहरुविरुद्ध अभिव्यक्ति दिएको विषयले विवादमा परेका हुन् ।

रामदेवको अभिव्यक्तिले आफूहरुको मानमर्दन भएको र क्षति पुगेको भन्दै इन्डियन मेडिकल एशोशिएसनले १० अर्ब भारु क्षतिपूर्ति माग गर्ने चेतावनी दिएको छ । १५ दिनभित्र अभिव्यक्तिप्रति क्षमा माग्न भन्दै अन्यथा क्षतिपूर्ति माग गर्ने चेतावनी दिएको इन्डियन एक्सप्रेसले लेखेको छ ।

छ पृष्ठ लामो सूचनामा इन्डयन मेडिकल एशोशिएसन उत्तराखण्डले २ हजार एलोप्याथीका डाक्टरहरुको मानमर्दन गरेको उल्लेख गरेको छ । योगगुरुको अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै प्रत्येक डाक्टरलाई ५० लाख भारु बराबर २ हजारका लागि १० अर्ब भारु क्षतिपूर्ति माग्ने चेतावनी दिइएको हो ।

रामदेवले कोरोना भाइरस नीको पार्ने भन्दै उत्पादन गरेको कोरोनिल किट नामक औषधीबारे समेत प्रश्न उठाइएको छ । उनले यो औषधीको विज्ञापन गर्दै एलोपेथीको औषधी प्रयोग गर्दा लाखौं मानिस कोभिड १९ ले मृत्युवरण गर्न पुगेको अभिव्यक्ति दिएका थिए । भारतका स्वास्थ्यमन्त्री हर्षवद्र्धनले समेत यो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्