Logo

गोकर्ण र योगेश माधव नेपाल पक्षमा फर्किए



काठमाडौं, १२ जेठ । माधवकुमार नेपाललाई अन्तिम समयमा साथ नदिएका एमाले नेताहरु गोकर्ण बिष्ट र योगेश भट्टराई फेरि फर्किएका छन् । उनीहरुको नाम आज नेपालसहित एमालेको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बनेका १५ नेताको ओलीविरुद्धको विज्ञप्तिमा देखिएको छ ।

ओलीको पछिल्लो कदमको चर्को आलोचना गर्दै त्यसविरुद्ध लाग्न गरिएको अपिलमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुको नाम छ । जसमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईको पनि नाम छ ।

यसअघि योगेश भट्टराई देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल समूहका सांसदले गरेको हस्ताक्षरबाट पछि हटेका थिए । उनीमाथि नेपाल समूहमाथि धोका दिएको आरोप समेत लागेको थियो । हस्ताक्षर गरेका गोकर्ण बिष्ट सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने रिटमा हस्ताक्षर गर्न मानेका थिएनन् । दुवै नेताले आफूलाई एकताको पक्षमा उभ्याएको सन्देश दिन खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्