Logo

कोभिड तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन



कर्णाली, १२ जेठ: कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य तथा कोरोना महामारी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएकी छिन् । मन्त्री नेपालीले आज भर्चुअल बैठकमार्फत् कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै भनिन्, “प्राकृतिक विपद्बाट कर्णाली प्रदेशमा बर्सेनि लाखौको धनजनको क्षति हुने गरेकाले यसको प्रतिकार्यका लागि जिल्लादेखि वडातहसम्म कार्ययोजना लग्नुहोस् ।”

प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रदेशस्तरीय सूचना प्रणाली लागू गर्न लागेको जानकारी दिँदै मन्त्री नेपालीले त्यसको प्रभावकारी व्यवस्थापनका निम्ति प्रमुख जिल्ला अधिकारीहरुको भूमिका र सहयोग महत्वपूर्ण हुने बताईन्। उनका अनुसार मनसुन सक्रिय हुने समय नजिकिदै गरेका कारण जिल्लादेखि वडातहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, जनचेतना जगाउने कार्यलाई तीव्र बनाएर लैजाने तयारी गरिएको छ । उनले तेस्रो भेरियन्ट आउने सक्ने जिल्लामा बलियो तयारी र सहज अक्सिजन आपूर्तिको वातावरण मिलाउन प्रजिअहरुलाई आग्रह गरीन् ।

कार्यक्रममा दशवटै जिल्लाका प्रजिअले कोरोना नियन्त्रण र विपद् व्यवस्थापन भइरहेका गतिविधिबारे र त्यसक्रममा देखिएको चुनौतीबारे जानकारी गराएका थिईन् । विपद्को पूर्वतयारीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग अपरिहार्य भएको र सेवा प्रणालीलाई चुस्त बनाउन तथा सबै नागरिकलाई खोप लगाउने वातावरण तयार गर्न उनीहरुको सामूहिक आग्रह थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्