Logo

खोपमा राष्ट्रपतिको चासोः उत्तरीतिर फोन, दक्षिणीलाई पत्र



काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप व्यवस्थापनमा गम्भीर चासो लिएकी छन् ।

उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग बुधबार दिउँसो भएको ‘टेलिफोन वार्ता’मा राष्ट्रपति भण्डारीले ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा आवश्यक सहजीकरण’का लागि आग्रहसमेत गरेकी छन् ।

चिनियाँ समकक्षी सीले ‘असल र घनिष्ट छिमेकी मुलुकका नाताले नेपाललाई सक्दो सहयोग गर्न चीन सकारात्मक रहेको’ बताएका छन् ।

‘कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायिŒव हो,’ सीसँग करिब ४५ मिनेटको कुराकानी क्रममा राष्ट्रपति भण्डारीले भनिन्, ‘जनतालाई आवश्यक पर्ने खोप चीनबाट खरिद गर्न हामी इच्छुक छौं, यसमा सहजीकरण गरिदिन आग्रह गर्दछु ।’

जवाफमा चिनियाँ राष्ट्रपति सीले ‘नेपाल चीनको अभिन्न मित्र रहेकाले आवश्यक सहयोगबारे आफू सकारात्मक रहेको’ बताएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले राजधानीलाई जानकारी दिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सामना गर्न कुनै एक देशले मात्रै सम्भव नभएकाले अन्य देशसँगको ‘बलियो साझेदारी’समेत आवश्यक रहेको विषयमा पनि कुराकानी भएको छ ।

नेपाल–चीन सम्बन्ध, ऐतिहासिक परम्परा तथा बुद्धजयन्तीसहित दुवै देशका राष्ट्रपतिबाट भएको भ्रमणमा भएका समझदारी कार्यान्वयनबारे पनि भण्डारी र सीबीच छलफल भएको छ ।

यसअघि, मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई ‘कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिने विषयमा पहल गरिदिन’ अनुरोध गरेकी थिइन् ।

समकक्षी कोविन्दलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै उनले ‘नेपाललाई खोप उपलब्ध गराउने विषयमा सहजीकरण गरिदिन’ आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले जानकारी दिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot