Logo

कोरोना कहरमा बाँझो फोर्दै, ‘रुपैयाँ’ फलाउँदै



बुटवल, जेठ १३। कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका युवाको दिनचर्या अहिले बदलिएको छ । तीमध्ये धेरैले गाउँमै आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् ।

बाँझो जमिन जोतेर हराभरा बनाएका छन् । कृषि उत्पादनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । त्यस्तैमध्येका एक हुन, रुपन्देहीको सैनामैना नगरपालिका–६ का दीपक नेपाली । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दीपक कोरोनाका कारण रोजगारी गुमेपछि गत वर्षको चैतमा बल्लतल्ल घर फर्किए । लामो समय बेरोजगारीका दिक्दारी दिन बिताएका दीपक अहिले भने आफ्नै खेतबारीमा रमाइरहेका छन।

पाँच कट्ठा खेतमा काँक्रा, करेला, बोडीलगायत तरकारी लटरम्म फलाएका छन् । गोलभेँडा, खुर्सानी, बन्दालगायतका मौसमी तरकारी पनि उस्तै छन् । पशुपालनबाट मलको व्यवस्था गर्नुहुन्छ र थोपा प्रणालीबाट सिँचाइ ।
धेरै वर्षसम्म बाँझो रहेको खेत अहिले हराभरा भएको छ । स्थानीय व्यापारी र उपभोक्ता तरकारी किन्न उहाँको खेतसम्म पुग्न थालेका छन् ।

वृद्ध बाबुआमा, दुई जना सुस्त मनस्थितिका भाइसहित आठ जनाको परिवार पाल्ने जिम्मेवारीमा रहेका दीपक अहिले तरकारी खेतीबाट सबै खर्च व्यवस्थापन गर्दै आम्दानी गर्न सफल भएका छन्। उनले अहिले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्न थालेको बताए ।

उनले भने, “धेरै महिना त के गरौँ, के गरौँ? भनेर दिक्दारीमा रहेँ । सेतो गुराँस बाल विकास संस्थाका प्राविधिकहरूले घरमै आएर सल्लाह दिएपछि कृषिमा होमिएँ । ” उनले सिँचाइका सामग्री, टनेल र बीउबिजनका लागि नगरपालिकाबाट अनुदान पाएका छन् ।

कोरोनाकै कारण वैदेशिक रोजगारी गुमाएर फर्किन बाध्य अर्का युवा हुन, सैनामैनाकै बाबुराम पन्थ । लामो समय मलेसियामा मजदुरी गरेका बाबुरामले पनि दीपकले जस्तै खेतमा पसिना बगाएर ‘रुपियाँ’ फलाइरहेका छन्। वडा नं ७ मा रहेको उनको बाँझो खेत अहिले हराभरा भएको छ । चार कट्ठा आफ्नै र सात कट्ठा भाडामा गरी ११ कट्ठा जमिनमा अहिले विभिन्न प्रकारका तरकारी फलिरहेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot