Logo

ओलीलाई भारतले साथ दिएको हो ?



काठमाडौं, १३ जेठ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले साथ दिएको विषय जोडतोडले उठिरहेको छ । नेपाल मामलाका जानकार भारतीयहरु नै ओलीलाई भारतको साथ मिलेको बताइरहेका छन् ।

प्राध्यापक एसडी मुनीले एक टेलिभिजन अन्तवार्तामा ओलीलाई भारतको साथ मिलेको बताए । उनले ओलीलाई साथ दिनु भारतको गल्ती हुने समेत टिप्पणी गरे । भारतीय जनता पार्टीका सांसद सुव्रमनियम स्वामीले ओलीलाई २८ वैशाखमा ट्वटी गर्दै ‘भारतको च्वाइस’ भने ।

नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले पनि हिन्दुस्तान टाइम्समा लेखमार्फत् ओलीलाई भारतले साथ दिइरहेको भन्दै त्यसको आलोचना गरेका छन् । भारतभित्रबाट ओलीलाई दरिलो साथ मिलिरहेको विषय आखिर किन आइरहेको छ ? के ओलीलाई वास्तवमै भारतले साथ दिइरहेको छ ? ओलीले भारतको चाहना पूरा गर्ने कार्य गरिरहेका छन् ? यो गम्भीर प्रश्न बनेको छ ।

मुनीकै भनाईलाई आधार मान्ने हो भने भारतले चीनको प्रभाव कम गर्ने हेतुले ओलीलाई साथ दिइरहेको छ । ओलीविरोधी गठबन्धनप्रति भारतले भरोसा गर्न सकिरहेको छैन । मुनीले माओवादी नेता प्रचण्डको चीनसँगको निकटता र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि केही रुपमा चीनको प्रभावमा परेको विषय उठाएका छन् । त्यसकारण पनि ओलीले साथ पाइरहेको उनको तर्क छ ।

विगतमा नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँगको बढ्दो निकटताप्रति भारतले शतर्कता देखाएको थियो । दुई पार्टीबीच संयुक्त प्रशिक्षण समेत हुँदा भारत झस्किएको थियो । जसले प्रचण्ड र माधवकुमार नेपालप्रति भारत असन्तुष्ट बनेको खबरहरु बाहिर आएका थिए । तर, चीनसँग निकै निकटता बढाएका प्रधानमन्त्री ओली फेरि भारतसँग हात बढाउन पुगे । भारतबाट नेपालमा गत वर्ष चारवटा महत्वपूर्ण भ्रमणहरु पनि भए । त्यसपछि ओलीप्रति भारतको विश्वास बढेको घटनाक्रमले देखाउँदै लग्यो ।

ओली सरकार ढाल्न खोज्दा भारतले साथ नदिएको असन्तुष्टि प्रचण्डले अभिव्यक्तिबाटै देखाए । उनले भारतलाई ‘कम्फर्टेबल’ हुने सरकारको प्रसंग पनि उठाए । देउवाले त ओलीलाई भारतको ‘टाङमुनी छिरेको’ देखि ‘त्वंम शरणम्’ भएको आरोप लगाउन पुगे । ओलीप्रति भारतको साथ बढेको सन्देश र असन्तुष्टि भावका रुपमा यसलाई लिन सकिन्छ ।

सत्ता संघर्ष निर्णायक बिन्दुमा पुग्दा पटक पटक भारतबाट साथ नमिलेको बुझाई विपक्षी गठबन्धनमा देखिएको छ । महन्थ ठाकुरको कदममा दक्षिणकै रुझान रहेको विषय बाहिर नआएको होइन । ठाकुरको कदमले ओली सरकार पटक पटक टिकिरहेको छ । यसमा पनि भारतको भूमिका रहेको बुझाई विपक्षी गठबन्धनमा देखिन्छ ।

एकातर्फ, भारतले ओली सरकारलाई साथ दिएको भन्दै विपक्षी गठबन्धन असन्तुष्ट भए । अर्कोतर्फ, पोर्टफोलियो बिर्सिएर राजनीतिक दलका प्रमुख नेताहरु चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका अध्यक्षको नेतृत्वमा बेइजिङ टु काठमाडौं भर्चुअल बैठकमा सहभागी भए । सत्तारुढ दलबाट एमालेका महासचिव इश्वर पोखरेल बैठकमा सहभागी थिए । काँग्रेसले केन्द्रीय सदस्य नारायण खड्कालाई पोर्टफोलियो मिलाउने गरी सहभागी गरायो । तर, पूर्वप्रधानमन्त्री भइसकेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवसमेत भर्चुअल बैठकमा सहभागी थिए । बैठकमा यस्तो सहभागिताप्रति अर्को छिमेकी मुलुकको चासो हुनसक्छ ।

वास्तवमा, नेपालको सत्ता संघर्षमा विदेशी चासोको भूमिकालाई बेवास्ता गर्न सकिदैन । भारत, चीन, अमेरिका, यूरोपेली युनीयन जस्ता शक्तिशाली मुलुक र संगठनहरुको चासो देखिएको छ । ओली र विपक्षी गठबन्धनबीचको सत्ता संघर्षमा नेपालका राजनीतिक दलका नेताको मात्र नभई विदेशी शक्तिको पनि भूमिका देखिएकै छ । त्यसमा भारत मात्रले भूमिका निभाइरहेको छैन । चीनले पनि खुलेर भूमिका निभाइरहेको छ ।

विगतमा चीनले नेकपा विवाद मिलाउन सक्रिय भूमिका खेलेको थियो । चिनियाँ राजदूत होउ यान्छी नेताहरुको घर घर दौडिएकी थिइन् । चीनबाट पनि एक टोली आएर तत्कालीन नेकपा छँदाका नेताहरुलाई भेटेको थियो । ओलीलाई त्यतिबेला चीनको दरिलो साथ मिलेको खुलेको थियो ।

यतिबेला फेरि ओलीलाई भारतको साथ मिलेको विषय बाहिर आएको छ । यसलाई बलिया देशहरु वर्तमान शक्ति र सत्तासँग जोडिएर रणनीतिक उद्देश्य पूरा गर्न खोजिरहेको रुपमा बुझ्न सकिन्छ । चीन होस् या भारत त्यही रणनीतिमा देखिएका छन् । नेपालको आन्तरिक राजनीतिमा बलिया देशको प्रतिष्पर्धा भने देखिदै गएको छ । उनीहरु वर्तमान सत्तासँग जोडिएरै आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न देखिएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot