इतिहास : फन्नी कप्लान जसले लेनिनलाई गोली हानिन्


रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को मस्को कमिटीले गृष्मकालीन हरेक शुक्रबार साँझ मिल तथा कारखानामा सभा गर्थ्यो । सन् १९१८ अगस्त ३० मा लेनिनका दुईवटा कार्यक्रम थिए– मस्कोको बास्मान्नी जिल्ला (बाउमन) को खाद्यान्न बजारको भवनमा र जामोस्क्वोरेच्ये जिल्लाको पुरानो मिखेल्सन कारखाना (भ्लादिमिर इल्यिच कारखाना) मा । अर्का नेता उरित्स्कीको हत्याका कारण मस्को कमिटीले दुवै कार्यक्रम स्थगित गरे पनि लेनिन बास्मान्नी जिल्लामा सम्बोधन गरी मिखेल्सन कारखानाका लागि हिँडे ।

कारखानाको सभामा थुप्रै मानिस भेला भएका थिए । उनले स्वतन्त्रता र समानताको नारा लगाउने प्रतिक्रान्तिकारी तत्वलाई पराजित गर्न आह्वान गरे, ‘हाम्रो मुक्तिको एउटै मात्र बाटो छ– विजय वा मृत्यु !’

सभा  सिद्धिएपछि लेनिन हथगोला वर्कसपको आँगनमा निस्के । त्यही बेला फन्नी एफिमोभना कप्लान नाम गरेकी महिलाले समाजवादी क्रान्तिकारी पार्टीको केन्द्रीय कमिटीको आदेश बमोजिम लेनिनमाथि गोली चलाइन् । उनले लेनिनमाथि तीनपटक गोली प्रहार गरिन् । दुईवटा गोलीले लेनिनलाई घाइते पार्यो, तेस्रो गोलीले उनको पिठ्युँमा ओभरकोटलाई मात्र प्वाल पार्यो । त्यो त्यही ओभरकोट थियो, जसलाई लेनिनले सन् १९१७ मा निर्वासनबाट रूस फर्कंदा लगाएका थिए र जीवनपर्यन्त लगाइरहे ।

त्यसबेला जनकमिसार परिषद्का सदस्यहरु नियमित बैठकको निम्ति भेला भइसकेका थिए । त्यसलाई लेनिनको कार्यव्यस्तताका कारण साढे आठको सट्टा ९ बजे सारिएको थियो । तर ९ बजे पनि लेनिन पुगेनन् । लेनिन घाइते अवस्थामा भेटिएको खबर पाएपछि जनकमिसार परिषद्का सदस्यहरु सँगसँगै लेनिनकी सचिव रहेकी रूसी कम्युनिस्ट नेतृ लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा घरमै गइन् । लेनिन पलङमा इन्तु न चिन्तु पल्टिरहेका थिए ।

क्रेमलिन ल्याइसकेपछि लेनिनले स्ट्रेचरमा सुतेर भित्र जान अस्वीकार गरे र सख्त घाइते भए पनि दोस्रो तल्लामा रहेको आफ्नो कोठासम्म हिँडेर जाने बताए । दुवैपट्टिका साथीहरुको सहाराले हिँडिरहेका उनी पहेँलै भइसकेका थिए । उनी भनिरहेका थिए, ‘चिन्ताको बात छैन, खालि हात दुखेको छ ।’

त्यतिबेलासम्म क्रेमलिनमा कुनै प्राथमिक उपचार केन्द्र थिएन । त्यसैले लेनिनका एक सचिव रातभरी नै रगतले मुछिएका पट्टी धोएर बसे । लेनिनको घाउबाट रगत बगिरहेको थियो । पट्टीहरुको पनि कमी थियो ।

गर्दनको हड्डी नजिकै घुसेको गोली अपरेसन गरी निकालियो । त्यो गोलीको एक छेउदेखि अर्को छेउसम्म सानो खाल्डो बनाइएको थियो । काप्लानले लेनिनलाई घाइते बनाएका गोलीहरुमा कुरारे नामक तेजिलो विष भरिएको पनि प्रचार गरियो ।

सन् १८९० फेब्रुअरी १० मा एक रुसी यहूदी परिवारमा कप्लानको जन्म भएको थियो । उनको वास्तविक नाम फेगा हैमोवना रोयटब्लाट थियो । उनका बुबा शिक्षक थिए र उनका सात भाइबहिनी थिए । सानै उमेरमा राजनीतिमा लागेकी कप्लानलाई १६ वर्षकै उमेरमा आतंककारी बम योजनामा ​​संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । त्यसबापत उनले साइबेरियाको मालत्सेभ र आकातु कारागारमा ११ वर्षसम्म कडा श्रम गर्नुपरेको थियो । त्यहाँ उनले दृष्टि पनि गुमाएकी थिइन् जुन आंशिक रूपमा पुनर्स्थापित भयो ।  समाजवादी-क्रान्तिकारी (एसआर) र बोल्सेभिकहरूबीचको द्वन्द्पछि कप्लानको लेनिनसँग मोहभंग भयो । एसआरले लेनिनको हत्या गर्ने निर्णय गर्यो । लेनिनले एकदलीय नीति अन्तर्गत एसआरमाथि प्रतिबन्ध लगाएका थिए । कप्लानलाई लेनिनको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर्याई सन् १११८ सेप्टेम्बर ३ मा मृत्युदण्ड दिइएको थियो । त्यतिखेर उनी जम्मा २८ वर्षकी थिइन् ।

कप्लानले आफ्नो समूहका कुनै पनि सदस्यको नाम भन्न अस्वीकार गरेकी थिइन् । उनले बयान दिइन्, ‘लेनिनलाई मैले नै गोली हानेकी हुँ । कसबाट रिभल्वर प्राप्त गरेँ, म भन्दिनँ । यसबारे म कुनै विवरण दिनेछैन । मैले धेरै पहिले नै लेनिनलाई मार्ने संकल्प गरेकी थिएँ । म लेनिनलाई क्रान्तिको देशद्रोही ठान्छु ।’ डाक्टरहरु चिन्तीत थिए- लेनिनको घाइते हात अर्को हातभन्दा छोटो नहोस् । त्यसैले हात राम्ररी फैलाउनका लगि त्यसमा एउटा गह्रुँगो भारी बाँधिदिएका थिए । लेनिनले एउटा हात अर्कोभन्दा लामो भएको तथ्य स्वीकार्न राजी भएको बताएपछि त्यो भारी हट्यो ।

लामो समयसम्म लेनिनको हातले राम्ररी काम गरिरहेको थिएन । नाडी र औँलाहरुको नियमित व्यायाम गर्थे । हमला भएको रात नै रेडियोबाट प्रसारित गरियो, ‘केही घण्टा पहिले कमरेड लेनिनको नीचतापूर्वक हत्या गर्ने प्रयत्न गरिएको थियो । … मजदुरवर्ग आफ्नो सम्पूर्ण शक्तिलाई अझ धेरै संगठित गर्दै क्रान्तिका सबै दुश्मनहरुको विरुद्ध निर्मम सार्वजनिक आतंक मच्चाएर आफ्नो प्यारा नेताहरुको हत्या गर्ने प्रयासहरुको जवाफ दिनेछ ।’ १२ सेप्टेम्बरमा लाल सेनाको पहिलो डफ्फाले लेनिनलाई निम्न लिखित सन्देश पठायो, ‘प्रिय भ्लादिमिर इल्यिच ! तपाईंको जन्मनगरमाथि कब्जा भयो । यो हो तपाईंको एउटा घाउको बदला, अनि अर्को घाउको जवाफ हुनेछ – समारा !’ लेनिनले जवाफ लेखे, ‘मेरो जन्मनगर सिम्ब्रिस्कमाथिको कब्जा मेरो घाउको सर्वोत्तम उपचार र सबैभन्दा राम्रो मल्हमपट्टी हो । मैले जीवन र शक्तिको असाधारण उमंग अनुभव गरिरहेको छु ।’ उक्त हमलामा बाँचे पनि लेनिन राम्ररी ठीक हुन सकेनन् । सेप्टेम्बरको अन्त्यतिर डाक्टरहरुले मस्को नजिकैको गाउँमा आराम गर्न सुझाए । उनी सेप्टेम्बर २४ मा चिकित्सक प्रोफेसर वेइसव्रोदसँग गोर्कीको उत्तरी खण्डतिर लागे । त्यहाँ तीन हप्ता बसेर लेखे, ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ ।

लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाको पुस्तक पेजेज फ्रम द लेनिन्स लाइफ मा आधारित