Logo

चक्रवात यासको असर शनिबारबाट कमजोर हुने, झरी भोलिबाट रोकिने सम्भावना



काठमाडौं, १४ जेठ । चक्रवात् यासको असर लगातार तेस्रो दिन पनि परिरहेको छ । देशका पूर्वी र मध्य भागमा निरन्तर मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात यास् पश्चिमउत्तर पश्चिम सर्ने क्रममा कमजोर भई न्यून चापीय क्षेत्रका रुपमा परिणत भएको छ । उक्त न्यून चापीय क्षेत्रको असर शनिबारबाट कम हुँदै जाने र त्यसपछि न्यून चापीय क्षेत्रका रुपमा देशको दक्षिणतर्फ रहनेछ । महाशाखाले भोलिसम्म वर्षाको समभावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज साँझ पनि देशभर धेरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ । हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्क हुन भनिएको छ ।

यसैगरी, बर्दाघाट, नवलपुरस्थित वर्षामापनमा भारी वर्षा मापन भएकोले शतर्क रहन बाढी सूचना केन्द्रले सूचना जारी गरेको छ ।

पछिल्लो १२ घन्टा यता सप्तरी, सिराहा र आसपासका जिल्लाहरुमा भारी वर्षामापन भएको छ । त्यहाँ थप वर्षा भएकाले आज राति सम्म नदीतटीय क्षेत्रमा सतर्ककता अपनाउन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्