Logo

ख्रुश्चेभको अन्तर्वार्ता लिएका थिए किसुनजीले



हरि अधिकारी :  कृष्णप्रसाद भट्टराई (किसुनजी) को नाम आउनासाथ म आजको राजनीतिमा क्रियाशील रहेका ती सबै राजनेतालाई सम्झने गर्दछु, जसलाई किसुनजीसँग दाँज्न सकियोस् । यसको अर्थ मैले आजका नेताहरुको वा स्वयम् किसुनजीको अवमूल्यन गरेको नठानियोस् । तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो माझ किसुनजीजस्ता राजनेता र सन्तको ठूलो अभाव खड्केको छ ।

मेरो विचारमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई जसलाई नागरिकको स्तरबाट सन्त नेताको उपमा दिइयो, नेपाल राष्ट्रको सार्वजनिक जीवनमा देखा परेका त्यस्ता थोरै मानिसहरुमध्ये एक हुनुहुन्थ्यो । आफ्नो सत्य, निष्ठा र ध्येयप्रतिको अविचलित आस्था र निस्वार्थ सेवाभावका कारण उच्चकोटीको मेधा प्रदर्शन गर्दै नेपालीलाई नै प्रतिष्ठाको शिखरमा पुर्याउन उहाँले ठूलो योगदान गर्नुभयो ।

८७ वर्षको आफ्नो जीवनमा उहाँले कहिलै लोभ, लालच, अहंकार प्रदर्शन गर्नु भएन । यी त्यस्ता दुर्गणहरु हुन्, जसले आम मानिसलाई अगाडि बढ्न दिँदैन । लोभ, लालच, अहंकारजस्ता कुरालाई उहाँले कहिल्यै प्राथमिकता नदिएकाले नै होला, उहाँ राजनेता सँगसँगै सन्त कहलिन सकेको । वैचारिक रुपले किसुनजी जति सुदृण र आत्मविश्वासपूर्ण हुनुहुन्थ्यो, त्यति नै व्यवहारमा नरम र बोलीमा मृदुभाषी पनि हुनुहुन्थ्यो ।

आफ्ना वैचारिक अडानहरुप्रतिको दृढताले नै भन्नुपर्छ, जीवनको अन्तिम घडीमा पनि उहाँले आफ्नो वैचारिक धरातललाई कमजोर हुन दिनु भएन । दृढ संकल्पसहित कामलाई लचकताका साथ गर्न सक्ने उहाँको खुबी मानवीय जीवनमा अत्यन्त थोरै मानिसलाई प्राप्त हुन्छ । उहाँको अर्को महत्त्वपूर्ण कुरा भनेको मितव्ययिता र सार्वजनिक जीवनलाई व्यक्तिगत जीवनबाट अलग राख्न सक्ने क्षमता हो ।

आचरणको स्वच्छता उहाँको व्यक्तित्वका प्रसाद गुण थिए । सार्वजनिक जीवन बिताउने क्रममा धेरैजसो समय कारावास, प्रवास निष्कासन र आन्दोलनमै बिताउनु परे पनि किसुनजीले आफूलाई र आफ्नो पार्टीलाई लक्ष्यतर्फ डोर्याउन कहिल्यै पछि पर्नु भएन । त्यही कारणलाई नै मुख्य मान्नु पर्छ जसले आजको नेपाली कांग्रेसलाई आफ्नो विचार, परम्परा र जीवन आदर्शमा टिकाइराख्न ठूलो भूमिका खेलेको छ ।

विश्व राजनीतिक उतारचढावको ज्ञान, भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीसँगको प्रभावले नै हुनुपर्छ, वि.स. २००८ सालको वैधानिक सभा र २०१५ सालको प्रतिनिधिसभाको सभामुखको भूमिकालाई उहाँले पूर्ण दक्षताका साथ निभाउनुभयो । त्यति मात्र होइन, प्रजातन्त्र बहालीपछि दुई पटकसम्म प्रधानमन्त्री हैसियतमा बिताएको जीवन तथा राजनीतिक नेतृत्वलाई उहाँले सुशासनमय बनाउन सफल हुनुभयो । उहाँको प्रधानमन्त्रीत्वको काल स्वच्छताका दृष्टिले आज पर्यन्त उदाहरणीय छ ।

राजनीतिक अडान तथा निस्वार्थ भावनाका साथ प्रजातन्त्रको सेवामा लाग्नुभएका किसुनजीका विरोधीहरुले पार्टीभित्रैबाट मानमर्दन, अपमानित गर्दा पनि उहाँले न त आफ्नो धैर्य गुम्न दिनुभयो, न त अन्तरघातीहरूप्रति दुर्भावना नै राख्नुभयो । त्यसो त उहाँले राजनीतिक जीवनमा अन्तरघात गर्नेदेखि लिएर किसुनजीलाई आफ्नो प्रतिस्पर्धी ठान्ने राजनीतिक संस्कारविहीन जमातलाई पनि आममाफी दिन पछि पर्नु भएन । यी यस्ता उदाहरणहरु हुन्, जसले उहाँमा रहेको सहिष्णुता र क्षमाशीलताको दिव्यतालाई झनै प्रज्वलित गर्ने गर्दछन् ।

भारतको स्वतन्त्रता सङ्ग्राममा हाम फालेर राजनीतिक जीवन आरम्भ गर्नु भई किसुनजी, निरंकुशतन्त्रविरुद्धको जनआन्दोलनको नेतृत्व गर्दै दक्षिण एशियाली भूभागका जनतालई पराधीनता र दासताको चंगुलबाट निकाल्ने एक प्रतिम उदाहरण हुनुहुन्थ्यो । किसुनजी एउटा सक्रिय, आदर्शवान् र दूरदर्शी स्वप्नद्रष्टा मात्र हुनुहुन्थेन, उहाँ लेखक र पत्रकार पनि हुनुहुन्थ्यो ।

नेपाली, हिन्दी र अंग्रेजी भाषामा राम्रो दखल राख्ने किसुनजी ‘सेन्सर सुब्बाको भ्रम’ भन्ने उपन्यासका लेखक पनि हुनुहुन्छ । थुप्रै्र फुटकर कविता र ‘मेरो म’ भन्ने आत्मकथा लेखिसक्नुभएका किसुनजीलाई मानिसहरु जुन विषयमा आलोचना गर्छन्, त्यो मलाई आलोचनाको विषय नै लाग्दैन । मानिसहरु कतिसम्म आलोचना गर्दछन् भने त्यस्तो कुरा स्वप्नद्रष्टाको नजरमा आलोचनायोग्य नै हुँदैन ।

एउटा दुर्भाग्यको कुरा पनि छ । जीवनभर आदर्श बोकेर बाँच्न चाहने उहाँको जीवनको अमूल्य उपन्यास ‘सेन्सर सुब्बाको भ्रम’ भन्ने पाण्डुलिपि बौद्धिक भनिएका कुनै चोरले गायब गरिदिएको भन्ने सुन्नमा आएको छ । एउटा दैनिक पत्रिकामा दुई अंकसम्म छापिएको उक्त पाण्डुलिपिको खोजी हुनु जरुरी छ । किसुनजीलाई अधिकांश मानिसहरु नेता मात्र भन्ठान्छन् । नेपालमा पत्रकारहरुको असंगठित जीवनलाई संगठित गर्दै आफ्नो अधिकारप्रति सचेत गराउने किसुनजी नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष हो । पत्रकारका रुपमा उहाँले गरेका महत्वपूर्ण कामहरु पत्रकारिताको क्षेत्रमा स्वर्णिम अक्षरमा लेखिएको छ ।

सन् १९५६ ताका एउटा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस पुग्नुभएका किसुनजीले तत्कालीन सोभियत संघका शक्तिशालि नेता निकिता ख्रुस्चेभसँग दुई घण्टा लामो अन्तर्वार्ता गर्नुभएको थियो । त्यस समय रुसमा ख्रुस्चेभलाई भेट्नु र कुनै विदेशी पत्रकारका नाताले अन्तरवार्ता लिनु साधारण कुरा थिएन ।

नेपाली काँग्रेसले बाटो बिराएको ठम्याइका साथ आफ्नो जीवनको अन्तिम समयसम्म पनि संवैधानिक राजतन्त्रप्रति देखाएको निष्ठा उहाँको विचारप्रतिको दृढता नै हो । त्यसो त उहाँको आलोचना पनि यही विषयलाई लिएर हुने गर्दछ । तर मैले यसलाई आलोचनाको विषयभन्दा पनि राजनीतिक विचारप्रति मानिसहरुको बुझाइको कमी भन्ठान्छु । मानिसहरु कतिसम्म सानो सोचाइ राख्दछन् भने किसुनजी रक्सी खान्थे भन्छन् । मलाई रक्सी खाने भन्ने कुरा आलोचनायोग्य विषय नै लाग्दैन ।

आफ्नो जीवनको ८७ औं वसन्तमा हिंड्दै गर्दा उहाँले आफ्नो प्राण त्याग गर्नुभयो । बुढेसकालका यी अप्रतिम घडीहरुमा उहाँको शारीरिक सेवामा ५२ सालको उमेरदेखि अमिता कपाली आउनुभयो । मैले किसुनजीप्रति कपालीजीको सेवा भावलाई उच्चतम मानवीय स्नेहको सम्बन्धका रुपमा लिएको छु ।

मानवीयताको यस सुन्दर दृष्टान्तलाई मानिसहरु किसुनजीको यौन जीवनसँग जोडेर हेर्ने गर्दछन् जुन कदापि मेल खाँदैन । जसले जीवनमा विवाह नै गरेन, उसको यौन जीवनको चर्चाको के अर्थ ? ५२ वर्षको उमेरमा कस्को यौन अंगले साथ देला र ? बुढेसकालमा कसैको सेवाबिना रहनुहुने भयो भन्ने चिन्ताका बीच कपालीजीको सेवा भावको हामीले उच्च सम्मान र कदर गर्नुपर्छ । सम्पत्ति खान आएको भनौं भने पनि बालुवाटारबाट छाता र सुराही लिएर बाहिरिने सन्तसँग के सम्पत्ति लिन आउनु ?

मैले आजको समाजमा यस्तो सेवाभाव भएको अर्को मानिस भेटेको छैन, जुन सेवा किसुनजीले कपालीबाट पाउनुभयो । त्यसैले म दोहोर्याएर भन्न चाहन्छु, यो उहाँहरुबीचको उच्चतम मानवीय स्नेहको सम्बन्ध थियो । मेरो जीवनलाई आदर्शोन्मुख बनाउने र विचारप्रति दृढ हुँदै व्यवहारमा सरल अपनाउन सिकाउने किसुनजीलाई सम्झँदा आज म भावुक भएको छु ।

 



प्रतिक्रिया दिनुहोस्