Logo

फिफा वरियतामा १ सय ३ औं स्थान माथि रहेको इराकसँग शनिवार नेपालको परीक्षा



जेठ १४, इराक । नेपालले शनिबार इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ । इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।

नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ ।

इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ । समूह ’सी’ बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा रहेको छ । उसलाई पछ्याईरहेको बहराईन ९, इरान ६, हङकङ ५ र कम्बोडिया १ अंक रहेको छ ।

यता, समूह ’बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ ।

नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।

अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।


राष्ट्रिय फुटबल टिम कप्तान किरण चेम्जोङले इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि ठुलो अवसर रहेको बताएका छन् । मैत्रीपूर्ण खेलका लागि राम्रो अभ्यास गरेका कप्तान चेम्जोङको दाबी छ । इराकसंगको मैत्रीपूर्ण खेलले विश्वकप छनोटमा सहयोग गर्ने उल्लेख गर्दै किरणले प्राप्त नतिजाले ठुलो अर्थ राख्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रतिक्रिया दिएका छन् ।

नेपालको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेबारी लिएपछिको यो पहिलो खेल हो । प्रशिक्षक अल्मुताइरीले नतिजा अनुकुल नआएको अवस्थामा खेलाडीलाई नभई आफूलाई गाली गर्न अपीलसमेत गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्