Logo

घनश्याम भुषालको टिप्पणी :..त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ



काठमाडौं, १५ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता घनश्याम भुषालले एउटा सांसदको हिसाबले हेर्दा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर आफूबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गरेका छन् । तर, संविधान र राजनीतिका लागि आफू उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेको पनि भुषालले स्पष्ट पारेका छन् । उनले भनेका छन मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

मेरो स्पष्टिकरणः

म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।

घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ । गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।



प्रतिक्रिया दिनुहोस्

Screenshot