Logo

नवनियुक्त मन्त्री र राज्यमन्त्रीसँग एमालेले माग्यो स्पष्टीकरण



धनगढी, १५ जेठ: पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा (एमाले)को प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।

स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको र प्रदेश कमिटीले फिर्ता हुन निर्देशन दिइसकेको अवस्थामा निर्णय विपरीत गई मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति लिएकाले स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए कारबाही हुने पार्टीका प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले बताए ।

बिहीबार मात्र मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार बिहीबार नै राज्यमन्त्रीको शपथ लिनुभएका चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको छ । प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

यसअघि सरकारबाट फिर्ता नभएको र स्थायी कमिटीको निर्णय विपरीत निर्णय गरेको भन्दै प्रदेश कमिटीले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पूर्वउद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीलाई पठाइसकेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्