Logo

ओलीले महन्थ ठाकुर र कमल थापासँग ‘चुनावी गठबन्धन’ गर्नसक्ने



काठमाडौं, १५ जेठ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली तोकिएको मितिमै चुनाव हुनेमा ढुक्क छन् । तोकिएको चुनावी मिति पाँच महिना बाँकी रहँदा ओलीले आन्तरिक तयारी समेत गरिरहेका छन् ।

प्रतिनिधि सभा विघटनको कदम चालेर दोस्रो पटक चुनाव घोषणा भएकोमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । तैपनि, ओली चुनावको पक्षमा फैसला आउनेमा ढुक्क छन् । चुनावका लागि उनले सम्भावित गठबन्धनका बारे पनि अग्रिम तयारी गरिरहेका छन् ।

ओलीले पहिलो प्राथमिकता सहमतिको राष्ट्रिय सरकारमा जोड दिएका छन् । उनले आफ्नै नेतृत्वमा सहमतिको चुनावी सरकारको प्रस्ताव बारम्बार गर्दै आएका छन् । तर, त्यो सम्भावना कमजोर छ ।

चुनावमा जाँदा ओलीविरोधी गठबन्धन कायमै रहेमा ठूलो चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षको गठबन्धन ओलीका लागि चुनावमा भारी पर्न सक्छ । त्यसैले उनले पनि अर्को गठबन्धनको पूर्वतयारीका लागि कदम चालिसकेका छन् ।

ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन् । सर्वोच्चको फैसला पर्खेर ठाकुर पक्ष बसेको छ । ठाकुर पक्षलाई ओलीले सरकारमा ल्याउनुका साथै चुनावमा समेत मधेशका विभिन्न निर्वाचन क्षेत्रमा गठबन्धन गर्नेबारे समेत तयारी भएको बुझिएको छ । त्यस्तो महोल बनाउन ओलीले जसपाको ठाकुर पक्षले उठाएका विभिन्न मागको सम्बोधन गर्दै गएको छ । जसमध्ये जसपा कार्यकर्ताहरुको मुद्दा फिर्ता, नागरिकताको विषय अध्यादेश ल्याएर सम्बोधन, शपथसम्बन्धी अध्यादेश लगायत छन् । ओलीले यी मुद्दाको सम्बोधन गरेर मधेशमा आफ्नो लोकप्रीयता बढाउन समेत खोजेका छन् ।

ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । उनले कमल थापालाई सरकारमा सहभागीका लागि प्रस्ताव गरेका हुन् ।

राजसंस्थासहितको हिन्दुराष्ट्रको मुद्दा उठाउँदै आएको थापाले पछिल्लो समय ओलीको कदमको समर्थन गर्दै आएका छन् । ओलीले राजसंस्थाको पक्ष नलिने स्पष्ट गरेपनि हिन्दुत्वको मुद्दामा सकारात्मक रहेको सन्देश दिदै आएका छन् । हिन्दु मत तान्न पनि ओलीले कमल थापासँग चुनावमा रणनीतिक गठबन्धन गर्न सक्ने सम्भावना देखिएको छ । देशभर नभएपनि विभिन्न चुनावी क्षेत्रमा त्यस्तो गठबन्धन हुनसक्ने सम्भावना बनेको छ ।

चुनावमा ओलीले ठाकुर र थापासँग कुनै न कुनै रुपमा गठबन्धन बनाएर जाने अवस्था बन्दै गएको छ । त्यसका लागि अग्रिम तयारी भइसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्