Logo

लालनपालन



भुवन देवकोटा : बुबा–आमा दुवै भएको परिवारमा हुर्कन पाउनु बालबालिकाहरूको नैसर्गिक अधिकार हो । जुन शिशु बुबा–आमाको काखमा हुर्किएको हुन्छ, उसको मनोविज्ञान आमा मात्र तथा बुबामात्रसँग हुर्किएको शिशुको भन्दा धेरै फरक हुन्छ । जुन परिवारमा आमा–बुबासँगै छन्, तर राम्रो सम्बन्ध छैन तथा झगडा भइरहन्छ भने त्यस्तो परिवारमा हुर्किएका बालबच्चाको मनोविज्ञान पनि कहिल्यै सकारात्मक र उच्च मनोबलको हुन सक्दैन । यो कल्पना र अनुमान गरिएको कुरा होइन, अनुसन्धानमा आधारित विज्ञानसम्मत तथ्य हो । त्यसैले हाम्रा कतिपय धार्मिक ग्रन्थहरूमा यसलाई ईश्वरीय परिकल्पनाका रूपमा समेत चित्रण गरेको पाइन्छ ।

समाजको भविष्यलाई सही दिशामा अग्रसर गराउने हो भने भने बालबालिकामा लगानी गर्नुपर्छ भनेर पनि त्यसै भनिएको होइन । बुबा–आमाको संयुक्त हेरचाह पनि बालबालिकाको नाममा समाजको भविष्यका लागि गरिएको लगानी हो । गाँस, बास, पोशाक मात्रै नभएर शिक्षाको उज्यालो पाउनु पनि हरेक बालबालिकाको अधिकार हो । त्यसको व्यवस्था गरिदिनु, अभिभाव, समाज र सरकारको कर्तव्य हो । हामी धेरै ठूला कुरा गर्न र गफ गर्न तल्लिन हुन्छौं तर समाजको भविष्यलाई सुन्दर बनाउन हामी चुकिरहेका छौं । हामी हाम्रा बालबालिका नै हाम्रा भविष्य हुन् भन्छौं, तर उनीहरूको जीवनमा महत्वपूर्ण प्रभाव पार्ने कुरामा हामीले ख्याल गरेका हुँदैनौं । हामीलाई झिना–मसिसना लाग्ने कुराले बालबालिको जीवनमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । त्यसैमध्ये एक हो– सम्बन्धित बच्चाको बुबा–आमाबीचको सम्बन्ध ।

बालबालिकाहरूको सामाजिक, मनोवैज्ञानिक, भावनात्मक र अन्य क्षेत्रको सही विकासको लागि सम्बन्धित शिशुको बुबा–आमाबीचको सम्बन्ध सुमधुर हुनै पर्छ । आमा तथा बुबा दुवैको स्यहारमा हुर्किएको हरेक बच्चाको मनोभावना सकारात्मक, उच्च र हिम्मतिलो हुने गर्दछ । बालबालिका सही किसिमले हुर्कन आमा–बुबा दुवैको माया, अनुशासन, मार्गनिर्देशन, सल्लाह आदि कुरा आवश्यक हुन्छ । साथै बुबा–आमा दुवै बालबालिकाको मनोवैज्ञानिक र भावनात्मक, सामाजिक विकासको लागि जिम्मेवार हुन्छन् । दुवैजनाको सम्बन्ध सत्य र पे्रमिलो छ भने बालबालिकाहरूले पनि त्यही सम्बन्धबाट जीवनपयोगी असल कुरा सिक्न सक्दछन् । यदि दुईजनाको सम्बन्ध राम्रो छैन, झगडा भइरहन्छ भने बालबच्चाको मनमा एक किसिमको डर पैदा हुन्छ, जसले ऊ कहिल्यै खुलेर बोल्न र खुशी हुन सक्दैन । सम्बन्ध भनेकै एकअर्कामा झगडा गर्नु हो भन्ने मनोविज्ञान उसको कलिलो मष्तिकमा परेको हुन्छ, जसलाई ऊ ठूलो भएर पनि हटाउन सक्दैन । परिणामतः यही मनोविज्ञानमा आधारित भएर उसको जीवन चल्न थाल्छ, जसले समाजलाई सही उदाहरण दिन सक्दैन । त्यसकारण पति–पत्नी एक–अर्काप्रति सबै कुरामा इमानदार हुनु र प्रेमपूर्ण सम्बन्धमा रहनु उनीहरूको बालबच्चाको भविष्यका लागि महत्वपूर्ण पक्ष हो ।

जब बालबालिकाहरूले आफ्ना बुबा–आमा एकअर्काप्रति इमानदार भएको देख्छन्, उनीहरूले पनि त्यही इमानदारिता आफ्नो जीवनको लागि पनि सिक्दछन् । पारिवारिक सम्बन्ध भत्किइरहेको वर्तमान समाजमा एकअर्काप्रति इमानदार रहनु कतिपयलाई कठिन लाग्नसक्छ । तर त्यसको परिणाम आफ्ना सन्ततीमा प्रकट हुँदा शायद हामी सबैलाई आनन्द लाग्छ । त्यसैले त भनिएको हो– सत्य सम्बन्धले सत्य परिणाम ल्याउँछ । सत्य–प्रेमको छहारीमा हुर्केका बालबालिका भोलि नैतिकवान् र असल चरित्रका नागरिक बन्ने प्रबल सम्भावना रहन्छ । त्यसैले हामीले साना बालबालिकाका अगाडि कहिल्यै झगडा गर्ने तथा खराब चरित्र प्रदर्शन गर्नु हुँदैन । किनभने उनीहरू हामीले के भन्छौं होइन, के गर्छौं त्यसबाट शिक्षा लिइरहेका हुन्छन् ।

बुबा–आमाबाट असल प्रेमको नमुना बालबालिकाहरूले देख्न पाए भने भोलि उनीहरूको मानसिक, सामाजिक, भावनात्मक अवस्था स्वस्थ रहन्छ र तिनीहरू देशका जिम्मेवार नागरिक र समाजका मर्यादित व्यक्ति बन्दछन् । साँचो प्रेममा अर्को व्यक्तिको भावना बुझिन्छ, अर्को व्यक्तिलाई सम्मान गरिन्छ । हाम्रा बालबालिकाले दोस्रो व्यक्तिलाई सम्मान गरुन् भन्ने हामी चाहन्छौं । यो चाहना गलत होइन । तर यो कुरा उनीहरूले आफ्नै बुबा–आमाबाट सिक्ने वातावरण हामीले बनाउनुपर्छ । किनभने उनीहरूले सबैभन्दा बढी बिताउने समय भनेको आफ्नै आमा–बुबासँग हो । तर हामी चाहन्छौं, त्यो कुरा उनीहरूले साथीभाई तथा स्कुलका शिक्षकबाट सिकिदिऊन् । यो हाम्रो गलत सोच हो ।

बुबा–आमाको बीचमा मिलाप र सुमधुर सम्बन्ध छ भने बालबालिकाहरूले पनि सोही सम्बन्धको अनुकरण आफ्नो जीवनमा गर्न सक्छन् । समाजमा भाइचारा र बन्धुत्वको भावना विकास गर्ने हो भने परिवारमा बालबालिकाहरूलाई सो कुरा बुबा–आमाले आफ्नो जीवनबाट सिकाउनुपर्छ । कुनै पनि व्यक्ति कुनै कुरामा अत्यन्तै खुसी हुन्छ भने सो व्यक्तिको दिमागमा एउटा रसायनिक हर्मोन उत्पादन हुन्छ । उक्त हर्मोनले सो परिस्थितिलिाई लामो समयसम्म स्मरणमा राख्न र सिकाइ प्रव्रिmयालाई पनि निकै मद्दत गर्दछ । बालबालिका खुसी रहने एउटा विशेष कारणचाहिँ तिनीहरूले आफ्ना अभिभावकको मिलाप र प्रशन्नता देखिरहनु हो । यस्तो परिवारमा हुर्केका बालबालिकाले मात्र भोलिको समाजलाई मार्गनिर्देशन गर्न सक्दछन् । सधैं झैं–झगडा भइरहने परिवारमा हुर्किएका बालबालिकाले कुनै पनि हालतमा समाज तथा राष्ट्रको सही नेतृत्व गर्न सक्दैनन् । यदि गरेछन् भने पनि उनीहरूको प्राथमिकतामा त्यही उपद्रो पर्दछ, जो उनीहरूले सानामा आफ्नो परिवारमा देखेका तथा भोगेका थिए । आज समाजमा अराजक लाग्ने कुनै व्यक्तिको बाल्यकाल तथा उसको पृष्ठभूमिलाई हेर्ने हो भने पनि यो कुराको सहज अन्दाज लगाउन सकिन्छ । त्यसैले आफ्ना सन्तान भविष्यमा सही नागरिक बनिदेओस् भन्ने चाहन्छौं भने त्यसको सुरुवात आजबाट गर्नुपर्छ । त्यसको पहिलो पाठशाला हो परिवार र श्रीमान–श्रीमतीबीचको सम्बन्धले त्यसका लागि एउटा असल शिक्षकको काम गरेको हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम