Logo

माओवादी र पूर्वमाओवादीप्रति ‘भारत झन् कठोर बन्ने’ संकेत



काठमाडौं, १६ जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत गतिलो कूटनीतिबाट च्यूत भएको, नेपालको हिन्दूवादी मोर्चा र भारतको राष्ट्रिय स्वंसेवक संघको गठजोडमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि संलग्नता रहेको टिप्पणी द हिन्दुमा लेखमार्फत् गरेपछि पूर्वमाओवादी र माओवादीसँगको सम्बन्धका धेरै विषय छरपष्ट भएका छन् । बाबुरामको टिप्पणीप्रति भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले बाबुराम अझै जेएनयूको काल्पनिकधर्तीमा बाँचिरहेको जवाफ दिएका छन् ।

बाबुरामलाई नेपालको आन्तरिक राजनीतिमा कुनै प्रकारको प्रतिक्रिया दिन स्वतन्त्र रहेपनि आरएसएस र भारतबारे प्रतिक्रिया दिनुले उनी अझै खाट्टी डाईहार्ड कम्युनिस्टका रुपमा आफ्नो असफलताका लागि अरुलाई गाली गरिरहेको टिप्पणी चौथाइवालेको छ । बाबुरामले अतुल के ठाकुरसँग मिलेर लेखेको लेखको आलोचना गरेका भाजपा विदेश विभाग प्रमुखको प्रतिक्रिया निकै अर्थपूर्ण मानिएको छ ।

भारतले ओलीलाई साथ दिइरहेको विषय उल्लेख गरिएको लेख कुनै देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले नहुँदाको अवस्थामा जसरी टिप्पणी गरिएको आशयसहित असन्तुष्ट व्यक्त भएको छ । यसले बाबुरामप्रति भारतको सत्तारुढ भाजपाले तिव्र असन्तुष्टि जनाउनु आफैमा चासोको विषय बनेको छ ।

भारतसँग निकै सुमधुर सम्बन्ध रहेको भनिएका पूर्वप्रधानमन्त्री भट्टराईको भाजपा सरकारमा आएपछि दूरी बढेको देखिन्छ । उनलाई भाजपाले अझै पनि माओवादी नेताकै नजरबाट हेर्ने गरेको देखिन्छ ।

यसअघि भारतको सत्तापक्षसँग नजिकको सम्बन्ध रहेका जनरल गगनदीप बक्सीले माओवादीप्रति तिव्र आक्रोश व्यक्त गर्दै भारतले माओवादीलाई विगतमा साथ दिएर आत्मघाती काम गरेको टिप्पणी गरेका थिए । उनले माओवादीको त्यतिबेला चर्को आलोचना गर्नु र हिन्दु राष्ट्र अन्त गर्ने कदम ठिक थिएन भन्नु र अहिले आएर भारतको सत्तारुढ दल भाजपा माओवादी र पूर्वमाओवादीप्रति कठोर बन्दै जानु अर्थपूर्ण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्