Logo

मन्त्रीबाट पदमुक्त भएका यी सात भाइले अझै छाडेनन् मन्त्री क्वार्टर, अझै मन्त्री बन्ने आश !



काठमाडौं, १६ जेठ । जेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि उनीहरुले क्वार्टर नछोडेको पाईएको छ । उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने तयारी नगरेको उच्च स्रोतको दाबी छ । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको आज दुई साता बित्न लाग्दापनि मन्त्रिक्वार्टर नछोड्नु लाजमर्दो भएको भन्दै अहिले सार्वजनिक रुपमै आलोचना भैरहेको छ ।

पदमुक्त हुनेमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा थिए । उनीहरु सातै जना पूर्व माओवादी केन्द्रबाट सुरुमा मन्त्री बनेका थिए । तर, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए ।

गत फागुन २३ गते नेकपाको एकता भंग गर्दै अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग गर्दापनि उनीहरुले माओवादी केन्द्र त्यागेर एमाले रोजेका थिए । दल त्यागेको कारण माओवादीले उनीहरुलाई सांसद नरहनेगरि कारबाही गरेको थियो । सोहीअनुसार सभामुख अग्नि प्रसाद सापकोटाले उनीहरुको सांसदबाट पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गरिसकेका छन् । तर, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अहिले उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ । सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेगरि दुई चरणमा निर्वाचन गर्ने भनेर मिति नै घोषणा गरिसकेको छ । ओलीले चुनावी सरकारमा फेरि सातै जनालाई सहभागी गराउने वचन दिएकाले उनीहरुले क्वार्टर नछोडेका कुरा पनि आएका छन् ।

तर, आफ्नो सत्ता जोगाउनको लागि सबैभन्दा निर्णायक भूमिका खेलेको र गुण लगाएका जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउने ओलीको तयारी छ । यो बीचमा ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वाद जारी राखेका छन् । जसपाबाट सरकारमा सहभागी हुँदा कम्तिमा पनि ८ जना सहभागी हुने जनाईएको छ । यसो हुँदा अहिले मन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका यी सातै जना मन्त्री हुने सम्भावना पनि छैन् । लामो समय राजनीति गरेका र पटक पटक मन्त्री भएकाहरुले यो कुरा नबुझ्ने कुरै छैन् । तर, उनीहरु अहिले पनि मन्त्री बन्ने आशमा क्वार्टर नछाडी बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्