Logo

कोरोनाबाट त्रिभुवन विद्यालयका २३ शिक्षक कर्मचारीको मृत्यु



काठमाडौ, १६ जेठ। त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को दोस्रो लहर शुरु भएयता विश्वविद्यालयमा कार्यरत २३ जना शिक्षक कर्मचारीले ज्यान गुमाएका छन् । कोभिड १९ को दोस्रो लहर शुरु भएयता १२ कर्मचारी र ११ जना शिक्षकको निधन भएको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी हालसम्म ६ सय १६ जना शिक्षक कर्मचारीहरूलाई कोरोना संक्रमण भएको पनि त्रिविले जनाएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा सहप्राध्यापक २ जना, उपप्राध्यापक ५ जना, शिक्षण सहायक २ जना र आंशिक शिक्षक २ जना रहेका छन् । त्यस्तै कर्मचारीतर्फ महाशाखा प्रमुख एक जना, उपप्रशासक एक जना, शाखा अधिकृत ५ जना र कार्यालय सहयोगीहरू ५ जना रहेको पनि त्रिविद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

देशका अधिकांश स्थानहरूमा निषेधाज्ञा लागू गरिएको कारणबाट त्रिवि र यस अन्तरगतका सबै निकायहरू प्रभावित भएको बताइएको छ । भौतिक उपस्थितिमा सञ्चालनमा रहेका सबै पठनपाठन र परीक्षाहरू स्थगित गरिएका छन् भने वैकल्पिक माध्यमबाट पठन पाठनलाई भने अगाडि बढाइरहेको बताइएको छ ।

विश्वविद्यालयका ७९ शिक्षक संस्थाहरूमा पूर्ण रुपमा अनलाइन कक्षाहरू सञ्चालनमा रहेका छन् भने ३० वटा निकायहरूबाट आंशिक रुपमा अनलाइन कक्षाहरू सञ्चालन भइरहेको पनि त्रिविले जनाएको छ । चार वटा निकायहरूमा अनलाइन कक्षा सञ्चालनको तयारी भइरहेको बताइएको छ । रोकिएका परीक्षाहरू सञ्चालनको गृहकार्य भइरहेको बताइएको छ । यसैगरी त्रिवि अन्तरगतका अस्पतालहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी कोरोनाबाट संक्रमित बिरामीहरूको उपचारमा सक्रियतापूर्वक संलग्न रहेको र आगामी दिनमा समेत उपचार कार्यमा विश्वविद्यालयका अस्पतालहरूबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्