Logo

चुनावमा गठबन्धन बनाएर जान ओली र ठाकुर सहमत, कमल थापालाई पनि साथमै लिने



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भएको छ । पछिल्लो समय ओली र ठाकुरबीच घनिष्ट सम्बन्ध छ । ओलीलाई सत्ता संकट आईपर्दा ठाकुरले दिलोज्यानले सघाएका छन् ।

कतिसम्म भने आफूलाई नै प्रधानमन्त्री बन्न अफर आउँदापनि उनले त्यसलाई इन्कार गरिदिए । ओलीले प्रतिनिधिसभा पहिलोपटक विघटन गरेदेखि अहिले दोस्रो पटकसम्म आइपुग्दा ठाकुर ओलीसँग लामो सहकार्य गरेर जाने पक्षमा उभिएको प्रष्ट भैसकेको छ ।

बैशाख २७ गते विश्वासको मत लिँदा जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो । तर, उपेन्द्र यादव पक्षले भने विपक्षमा मत हालेको थियो । ठाकुर बरु पार्टी फुटाउन तयार छन् तर ओलीसँगको सहकार्य तोड्ने पक्षमा छैनन् । आफूहरुको माग र मुद्दा ओलीले नै सम्बोधन गरेकोले अब सहकार्य निरन्तर रहने पनि ठाकुरले बताउने गरेका छन् ।

आजमात्रै, प्रधानमन्त्री ओली र ठाकुरबीच बालुवाटारमा लामो छलफल भएको छ । सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गते गरेर दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। सरकारले निर्वाचनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशनसमेत दिएको छ ।

आज ठाकुरसँगको भेटवार्तामा ओलीले चुनावमा गठबन्धन बनाएर जानेबारे प्रस्ताव राखेको स्रोतको दाबी छ । यसमा ठाकुरले ग्रिन सिग्नल दिएको बुझिएको छ । कतिसम्म भने आगामी निर्वाचनमा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, माधव नेपाल समूह र जनमोर्चाबीच चुनावी मोर्चा बन्ने तयारी भएको उल्लेख गर्दै ओलीले अब एमाले, जसपाको ठाकुर पक्ष र राप्रपाबीच चुनावी गठबन्धन बनाउनुपर्ने धारणा राखेका थिए ।

ओलीले केही दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । जसपाका नेताहरुलाई समेटेर मन्त्रिपरिषद विस्ता गर्न लागिएको बुझिएको छ । तर, राप्रपाबाट पनि केहीलाई समावेश गर्ने उनको योजना छ । यसबारेमा अध्यक्ष कमल थापासँग ओलीले वार्ता गर्ने बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot