Logo

केपी ओलीपछि नेकपा (एमाले) को नेतृत्वमा को ? ईश्वर पोखरेल कि विष्णु पौडेल ?



काठमाडौं, १७ जेठ । नेकपा (एमाले) मा अब केपी शर्मा ओलीपछि नेतृत्वमा को आउँछ ? भन्नेबारे अहिलेदेखि नै बहस सुरु भएको छ । पार्टीका संस्थापक नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेताहरु पार्टीबाट निश्काषित भएको अवस्था र अझै नेपाल समूहको ठूलो पँक्तिलाई कारबाहीको तयारी भैरहेको छ । सम्भवतः एक दुई दिनभित्रै १२ जना प्रभावशाली नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निश्काषन गर्ने तयारी छ ।

एमालेमा ओलीपछि नेतृत्वमा ईश्वर पोखरेल र विष्णु पौडेलको चर्चा छ । तर, पोखरेलभन्दा पौडेललाई नै आम कार्यकर्ता पँक्तिदेखि अध्यक्ष ओलीले पनि रुचाएको कारण आगामी महाधिवेशनबाट एमालेको नेतृत्व पौडेलले गर्नेबारे अहिलेदेखि नै चर्चा सुरु भएको छ । नेता पौडेल पछिल्लो समय पार्टीभित्र अति नै रुचाईएका नेताको रुपमा परिचित छन् । भर्खरै बजेट ल्याएका अर्थमन्त्री पौडेलले युवादेखि बृद्धासम्मबाट वाहवाही पाएका छन् । कर्मचारीहरुपनि उनीसँग खुशी छन् । जनमुखी बजेट ल्याएको भन्दै उनको प्रशंसा भैरहेको छ । अर्थमन्त्री पौडेलले ल्याएको बजेट चुनावपछि पनि आफूहरुले नै कार्यान्व्यन गर्ने बताईसकेका छन् ।

आम नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्नसक्ने खुबी र पार्टीभित्र आईपर्ने जस्तोसुकै संकटलाई पनि कुशलताका साथ समाधान गर्न उनी खप्पिस मानिन्छन् । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउनको लागि पनि पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । एकताका दस्तावेज लेखनदेखि सांगठानिक संरचना तयार पार्ने काममा पौडेलले नै महत्वपूर्ण योगदान गरेका थिए । कतिसम्म भने तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद हुँदा पनि उनी दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालको प्रिय थिए । पार्टी एकताको लागि महत्वपूर्ण योगदान गरेको भन्दै त्यतिवेला ओली र दाहालको रुचिमा पौडेल महासचिव बनेका थिए । त्यतिवेला देखि नै उनलाई ओली र दाहालपछि अब नेतृत्वमा पुग्ने नेताको रुपमा हेरिएको थियो ।

अहिले एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । प्रधानमन्त्री ओलीलाई सुरुदेखि नै दरिलो साथ दिँदै आएका नेता पौडेल पछिल्लो समय झनै ओलीको रक्षाकवजको रुपमा उभिएका छन् । अध्यक्ष ओलीले सबैभन्दा बढि विश्वास यदि कोही नेतालाई गर्छन् भने ती नेता पौडेल नै हुन् । ओलीले आफ्नो पहिलो कार्यकालमा पनि पौडेललाई अर्थमन्त्री बनाएका थिए । अहिलेपनि उनैलाई अर्थमन्त्री बनाएका हुन् । यसले पनि देखाउँछ उनी ओलीको कति प्रिय छन् भनेर । सरकारमा पौडेलको यात्रा भने युवा तथा खेलकुदमन्त्रीको रुपमा सुरु भएको हो । त्यसपछि उनी उर्जा तथा जलस्रोत मन्त्री भए । पछि रक्षामन्त्री बने । त्यसपछि अर्थमन्त्री । उनी सुरुदेखि नै ओलीको कोटाबाट मन्त्री बनेका हुन् ।

एमालेमा भावी अध्यक्षको रुपमा ओली सरकारमै सहभागी दुई नेताहरु ईश्वर पोखरेल र विष्णु पौडेलको चर्चा हुने गरेर पनि अन्तिममा ओलीले पौडेललाई नै अघि सार्ने ओलीनिकट नेताहरुको दाबी छ । ती नेताका अनुसार आफ्नै सरकारमा पोखरेल उपप्रधानमन्त्रीको रुपमा रहेपनि पोखरेलभन्दा बढि पौडेलसँग ओलीको केमेष्टी मिलेको छ ।

पौडेल राष्ट्रिय राजनीतिमा मात्रै नभएर अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो राख्ने नेताहरुमा पर्छन् । भारतीय नेताहरुसँग उनको सुमधुर सम्बन्ध छ । पार्टीभित्र युवा पुस्ताले पनि पौडेललाई नै रुचाएका छन् । कतिसम्म पौडेललाई तत्कालिन पार्टी महासचिव मदन भण्डारीले समेत रुचाएका थिए । उनको कामबाट प्रभावित भएर भण्डारीले उनलाई २०४८ सालमै ३२ वर्षकै उमेरमा पार्टीको केन्द्रीय सदस्य बनाएकोबारे अहिलेपनि चर्चा हुन्छ ।

सबै हिसाबले अब एमालेको भावी अध्यक्षको रुपमा पौडेललाई हेर्न थालिएको छ । भलै पौडेलले भने अध्यक्ष बन्नको लागि कुनै आकांक्षा राखेका छैनन् । पौडेल र पोखरेलपछि एमालेको नेतृत्वमा आउनसक्ने अन्य नेताहरुको बारेमा पनि चर्चा हुने गरेको छ । त्यसरी चर्चामा रहेका नेताहरुमा सुवासचन्द्र नेम्वाङ्ग र शंकर पोखरेल पनि हुन् । तर, आगामी महाधिवेशनमा नेतृत्वको लागि ईश्वर पोखरेलले पनि प्रतिष्पर्धा गर्ने तयारी गरिसकेका छन् । त्यसो भयो भने दशौं महाधिवेशनमा पोखरेल र पौडेलबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्